Sajhamanch Archive

२४ जिल्लामा फैलियो सलह, कता छन् ठूला झुण्ड ?

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपालका विभिन्न २४ जिल्लामा सलह भेटिएको छ । मंगलबार बिहान १२ बजेसम्म २४ जिल्लामा सलह रहेको प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गतको सलह सूचना केन्द्रले जनाएको छ।

सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्‍याएको केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए । क्षतिको अनुमान नभइसके पनि प्रारम्भिक रुपमा बालीहरुमा सलहले असर पुर्‍याएको विवरण केन्द्रमा आएको सुवेदीले बताए ।

नेपालमा शनिबार बिहान रुपन्देहीको भैरहवा, बारा, पर्सा तथा सर्लाही, मकवानपुर र कपिलवस्तुबाट भित्रिएको ठूलो भुण्डको सलह नै तितरबितर भएर उडिरहेको केन्द्रले जनाएको छ ।

कता-कता पुगे सलह ?

बारा, पार्सा, रौतहट र सर्लाहीमा देखिएको सलहको झुण्डमा करिक दुई तीन हजारको झुण्डमा मात्रै रहेको थियो । त्यहाँबाट सलह उत्तरतर्फको पहाडी क्षेत्रमा पुगेको जनाइएको छ ।

महोत्तरीको बर्दीबास र मकवानपुरगढीमा रहेको सलहको झुण्डको संख्या यकिन नभएको र तिनीहरु जंगल तथा सिन्धुलीतर्फ गएको छ ।

यस्तै मकवानपुरको बकैया र हेटौँडामा करिब १० लाखको संख्यामा सलहको झुण्ड रहेको केन्द्रको अनुमान छ । त्यहाँ भेटिएकामध्ये केही सलह चितवनतर्फ उडेको केन्द्रले जनाएको छ ।

यस्तै चितवनमा सोमबार कालिका, शक्तिखोर र रत्ननगरमा एक लाखको संख्यामा सलह देखिएको छ र यो सलह उडेको छैन् ।

यस्तै सिन्धुलीको भिमानमा दुईदेखि तीन लाखको संख्यामा सलह भेटिएको छ । उक्त संख्यामध्ये केही काभ्रे र रामेछापतर्फ अघि बढेको सूचना केन्द्रमा आई पुगेको छ ।

यस्तै रामेछाप, काभ्रे र काठमाडौं उपत्यामा सानो संख्यामा सलह पुगेको छ । यहाँ भेटिएको सलहको छरिएका र निकै कम मात्रामा छ । रुपन्देहीको कालीकानगर, वुटवल र सैनामैनामा करिब ५ देखि ७ लाखको झुण्ड कपिलवस्तु र पाल्पातर्फ गएका छन् ।

कपिलवस्तुको वाडगंगामा आइतबार ७ हजारभन्दा बढीको झुण्डमा भेटिएको सलह तितिरबितर अवस्थामा छ । असार १४ गते पाल्पा पुगेको सलह करिब ४ देखि ५ लाखझण्डमा रहेको सूचना केन्द्रमा छ ।

त्यहाँबाट सलह स्याङ्जा र गुल्मीतर्फ उडेको छ । यस्तै स्याङ्जाको कालीगण्डकीमा करिब ५० हजार, दाङको गधवा, तुलसीपुरमा ४ हजारको झुण्डमा सलह छन् ।

८ देखि १० लाखको झुण्ड कपिलवपस्तुको बुद्धभूमी, शिवराज र कपिलवस्तु नगरपालिकामा रहेको भेटिएको छ ।

त्यहाँ रहेको ठूलो संख्याको सलहले उत्तर पश्चिम हुँदै दाङ, प्युठान र रोल्पातर्फ उडेको केन्द्रले जनाएको छ ।

कास्कीमा झण्डै दुई लाखको झुण्डमा सलह भेटिएको छ । गुल्मी, प्युठान, पाँचथर, उदयपुर, र खोटाङ, कैलालीमा सानो संख्यामा सलह भेटिएको छ ।

मकवानपुरमा हजार रोपनी मकैबालीमा क्षति

सलहका कारण भर्खरै रोपेको धानदेखि मकै, तरकारी तथा जंगलको हरियालीमा क्षति पुगेको केन्द्रले जनाएको छ ।

सलहले मकवानपुरको बकैया र हेटौडामा एक हजार रोपनीमा लगाइएको मकै खेतीमा क्षति पुर्‍याएको सूचना केन्द्रले जनाएको छ ।

यस्तै बारा, पर्सा, रौतहट र सर्लाहीमा सलहले पोसिलो घाँस खेतीमा मात्रै असर पुर्‍याएको छ । सलहले महोत्तरीमा तरकारी लगायतका बाली नष्ट गरेको छ ।

चितवनको कालीका, शक्तिखोर तथा रत्ननगरमा बिउ तथा भर्खरै रोपेको धानबालीमा क्षति पुर्‍याएको केन्द्रले जनाएको छ ।

सिन्धुलीमा जंगल, रुपन्देहीमा केही तरकारी बाली तथा मकै, कपिलवस्तुमा तरकारीबाली तथा धान, पाल्पामा केही बाली तथा जंगल, स्याङ्जामा केराखेती, दाङमा रोपिएको धान, कास्कीमा घाँसे मैदान र कैलालीमा मकैखेती तथा जंगलको रुखमा सलहले क्षति पुर्‍याएको केन्द्रले जनाएको छ ।

स्रोत: अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *