Sajhamanch Archive

लकडाउनमा पनि कनकाई हस्पिटलको सेवा निरन्तर

Published: in समाज, स्वास्थ्य by .

बिर्तामोड । कनकाई हस्पिटल बिर्तामोडले लकडाउनमा पनि विशेषज्ञसहितको स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

कनकाई हस्पिटल बिर्तामोडको १४औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनमा पनि स्वास्थ्य बीमा अन्तरगतको ओपीडी सेवा, सुत्केरी सेवा, मृगौला, मुटुरोग सम्बन्धी सेवा, हाड, जोर्नी, नशा रोग सम्बन्धी सेवा, इमरजेन्सी सेवा, जनरल र मेरुदण्ड सम्बन्धी शल्यक्रिया र अन्य रोगहरु पनि उपचार गरिरहेको कनकाई हस्पिटलका व्यवस्थापक अभय भुजेलले जानकारी दिए ।

उनले लकडाउनको अवधिमा हालसम्म तीन हजारभन्दा बढीलाई विशेषज्ञसहितको स्वास्थ्य सेवाहरु प्रदान गरिएको र त्यही अवधिमा एक सयभन्दा बढीको जनरल र मेरुदण्ड सम्बन्धी शल्यक्रिया गरिएको बताए ।

कनकाई हस्पिटलका अध्यक्ष तथा मेडिकल डाइरेक्टर डा. प्रेमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा हस्पिटलका निर्देशकहरु खेमराज बानियाँ, युवराज डाँगी लगायतले कोरोना भाइरसको संक्रमणको यस्तो जोखिमपूर्ण अवस्थामा पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको भन्दै डाक्टर तथा नर्सहरुको प्रसंशा गरेका थिए ।

त्यस्तै हस्पिटलका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.राजेशकुमार महतो, एनेस्थोसियोलोजिष्ट डा. प्रमोद राई, वरिष्ठ फिजिसियन डा.चन्दन विश्वास लगायतले लकडाउनमा पनि सुरक्षाका सावधानी अपनाउँदै सामाजिक दुरी कायम गरेर स्वास्थ्य सेवा प्रदान गरिरहेको बताएका थिए ।

सोही कार्यक्रममा भारतको गंगाराम हस्पिटलबाट माइक्रोस्कोपी स्पाइन सर्जरी र एन्डोस्कोपिक न्युरो स्पाइन सर्जरी सम्बन्धी विशेषज्ञता हाँसिल गरेर नेपालमै पहिलो पटक कनकाई हस्पिटल बिर्तामोडमा आएको भन्दै कनकाई हस्पिटलका अध्यक्ष तथा मेडिकल डाइरेक्टर, वरिष्ठ स्पाइन सर्जन डा. प्रेमबहादुर शाहीलाई स्वागत सम्मान गरिएको थियो ।

कार्यक्रममा डा. प्रेमबहादुर शाहीले कनकाई हस्पिटल बिर्तामोडले प्रदेश १ मै पहिलोपटक माइक्रो एण्डोस्कोपिक स्पाइन सर्जरी सम्बन्धी सेवा शुरु गरिने बताए । उनले कनकाई हस्पिटल बिर्तामोडले स्पाइनल सर्जरी सेवा शुरु गरेको र प्रदेश १ का सेवाग्राहीलाई लक्षित गरी बिर्तामोड–५ बुट्टाबारीमा १०० शैय्याको ट्रमा सेन्टर निर्माण गरिने जानकारी दिए ।

कार्यक्रममा कोरोना भाइरसको संक्रमण तथा रोकथाममा खटिने अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना भाइरसको जोखिमकाविरुद्ध ५० हजार बराबरको जीवन बीमा गरिएको जानकारी दिइयो ।

कनकाई हस्पिटलले स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत ओपीडी सेवा, इमरजेन्सी सेवा, मेरुदण्ड, हाडजोर्नी तथा नशा रोग, प्रसूति तथा स्त्री रोग, नवजात, शिशु तथा बालरोग, एनेस्थेसीया तथा क्रिटीकल केयर, आइसीयु सेवा, जनरल तथा ल्याप्रोष्कोपिक सर्जरी सेवा, रेडियोलोजी, फिजियो थेरापी, प्याथोलोजी लगायतका विभिन्न विशेषज्ञसहितको सेवा प्रदान गर्दै आइरहेको कार्यक्रममा जानकारी दिइयो ।

हस्पिटलका निर्देशक महेन्द्रबहादुर राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन हस्पिटलका व्यवस्थापक अभय भूजेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *