Sajhamanch Archive

घर फर्किने आशामा रहेका नेपालीहरुको क्रन्दन

Published: in परदेश (प्रवास), विचार/ब्लग, समाज, by .

म अहिले दुबईमा छु । मे महिनाको १८ तारिखमा मेरो यहाँ बस्ने भिसाको म्याद सकियो । भिसा सकिनुभन्दा एक महिना अगाडि नै काम बन्द भयो । कोठामा बस्न थालेको दुई महिना कटिसक्यो ।घर फर्कने योजना बनाएको अहिले सपना जस्तो भएको छ ।

कोरोना भाइरसको कहरका कारण विश्वका धेरै देशहरुमा भइरहेको लक डाउनले गर्दा प्रवासी नेपालीहरु स्वदेश फर्कन पाइरहेका छैनन् ।तिनीहरुकै सूचिमा म पनि छु । एअरपोर्ट खुलेको छैन । स्वदेश फर्कन चाहने युवा युवती धेरै छन् । यो बन्दाबन्दीले रोकिएको छ । कति युवाहरु अलपत्र परेर बसेका छन् । एअरपोर्ट कहिले खुल्छ भन्ने आशामा कष्टकर दैनिकी झेलेर बसेका छन् । कहिले पुगिन्छ नि घर भन्न थालेका छन् यहाँ बस्ने नेपालीहरु । के गर्ने, कता जाने भनेर उनीहरुको मन विचलित हुन थालेको छ । घर जान नपाएर उनीहरु भौतारिएका छन् ।

कोरोनाको कहर र लकडाउनले दुख दियो । रिस पनि पोखेका छन् सरकार समक्ष । कोठामा बस्न महिनौं बितिसक्यो । घर जाने पैसा पनि सकिँदैछ । आर्थिक स्थिति पनि नाजुक हुन पुगेको छ । भोकभोकै बस्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न । कति नेपालीहरु विपदको समयमा अड्केर बसेका छन् । घर कहिले पुगिन्छ भन्ने एउटै कुराले उनीहरुको मनमा निराशाको बादलले छोपेको छ । टेन्सन, दिग्दारी, मानसिक तनावको सिर्जना उत्पन्न भएको छ ।

मलाई पनि घर कहिले पुगिन्छ भन्ने आशा पनि मर्न थालेको छ ।दिनानुदिन कोरोना भाइरसको संक्रमण बढेको बढ्यौ छ । लकडाउन पनि खोलिहाल्ने अवस्था छैन । घर पनि सुख र खुशीको साथ जान पाइएन । सरकारको पहलमा हवाई सेवा छिटोभन्दा छिटो सुचारु गरेर उद्धार कार्य अगाडि बढाउन जरुरी देखिन्छ । कतिको पैसा सकिएको छ । के खाने भनेर सोच्न थालिसकेको छ । सुरक्षित रूपमा घर फर्कन व्यवस्था मिलाउन आवश्यक छ । यहाँ बस्ने कयौं नेपालीहरु स्वदेश फर्किन नपाएर तड्पिएका छन् । कति त खानै न पाएर भोकभोकै हुनुपरेको अवस्था छ । जागिर छुट्यो । पैसा छैन । घर कसरी जाने भनेर यहाँ बस्ने नेपालीहरु गुनासो गर्छन् ।

अबुधाबीमा नेपाली राजदूताबास छ । त्यहाँ गएर पहल गर्न भन्छन् । तर के गर्ने नगर्ने यहाँ बस्ने नेपालीहरु नै अलमलमा छन् । दूतावासले केही गर्छ कि भनेर आशा गरिरहन्छन् । युएईमा रहेका प्रायः धेरै नेपालीहरु घर फर्कन चाहेका छन् । यो कुरामा पनि सरकारको ध्यान जान जरुरी छ । युएईमा रहेको नेपालीहरु भन्छन्, सरकार हामीलाई लिन प्लेन कहिले आउँछ ? तिमीले उद्धार भने पनि आजसम्म स्वदेश फर्कनेहरुले साविकभन्दा तीन गुना बढी भाडा तिरेर गएका छन् ।

यहाँ बस्ने हामी नेपालीहरु सबै तीनगुणा भाडा तिर्न सक्ने अवस्थामा छैनौं । नेपाल सरकारले उद्धार नै गरेको हो भने हामीजस्ता रोजगारी गुमाएका, चार महिनाको बन्दाबन्दीमा बसेर खानुपर्दा भएको रकम पनि सकिएकाहरुलाई घर फर्काउ । आफ्नो सरकारसँग अब एउटै आशा छ, सुरक्षित तकिाले आफ्नो घर पुगियोस् । परिवारसँग भेटेर बाँच्न पाइयोस् । परदेशमा पसिना बगाएर श्रम बेच्न आएका मजस्तै लाखौं युवाको तर्फबाट जनताको सरकार छ है नेपालमा भन्ने आभाष दिलाउ ।

(बिर्तामोडका संग्रौला हाल वैदेशिक रोजगारीका लागि दुबईमा बस्छन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *