Sajhamanch Archive

एनएमसीको २४औं कार्यालय गरामनीमा, चारपानेमा पर्सीदेखि

Published: in सहकारी by .

बिर्तामोड । झापाको मेचीनगर ६ काँकरभिट्टामा मुख्य कार्यालय रही जिल्लाभर कार्यक्षेत्रको स्वीकृति प्राप्त गरेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आजदेखि आफ्नो २४औं कार्यालय गरामनीमा सञ्चालन गरेको छ ।

बिर्तामोड नगरपालिका वडा नं. ७ गरामनी बजारमा स्थापित सम्पर्क कार्यालयको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीले रिवन काटेर उद्घाटन गरिदिएका हुन् ।

कार्यालय उद्घाटन पछि मन्तब्य राख्ने क्रममा नगर प्रमुख शिवाकोटीले एनएमसीले बिर्तामोड नगरपालिकाका वडा–वडासम्म आफ्नो सेवा बिस्तार गरेकोमा खुशी व्यक्त गरे ।

एनएमसीले नेपालको सहकारी अभियानमा मार्गदर्शकको भूमिका निर्वाह गरिरहेको आफूले पाएको बताउँदै नगर प्रमुख शिवाकोटीले एनएमसी डेरीको स्थापना र सञ्चालनले झापाका पशुपालक किसानसहित उपभोक्ता पनि लाभान्वित भइरहेको बताए ।

आफ्नो मन्तब्यका क्रममा नगरप्रमुख शिवाकोटीले सहकारीको सम्पत्ती हिनामिना र अपचलन गर्नेहरु अब स्थानीय सरकारको कालोसूचिमा पर्ने भएकाले त्यस्तो दुर्नियत राख्नेहरु अब बडारिँदै जाने पनि दावी गरेका छन् ।

बिर्तामोड कार्यालयगत समितिका संयोजक हरिप्रसाद आचार्यको अध्यक्षतामा बिर्तामोड कार्यालय प्रमुख भूपाल गौतमले सञ्चालन गरेको गरामनी सम्पर्क कार्यालय उद्घाटन समारोहमा समितिका सदस्य मेदनीप्रसाद न्यौपानेले शाब्दिक स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी बहुउद्देश्यीय सहकारी संस्था भएकाले आफुना सदस्यहरुलाई उत्पादनसँग जोड्न र स्वरोजगार बनाउन डेरी उद्योग खोलिएको जानकारी गराए ।

तीन वर्ष अघिदेखि सञ्चालित डेरी उद्योगमा यो वर्षका केही महिना हप्ताको दुई दिन ‘मिल्क होलिडे’ गर्नुपर्ने बाध्यता थपिएको उनले तीतो यथार्थ पनि सुनाए ।

‘सिङ्गो डेरी उद्योग र मातहत चिलिङ भ्याट बचाउनका लागि ‘मिल्क होलिडे’ बाध्यात्मक परिस्थिति हो’ संस्थाको डेरी व्यावसाय समितिका संयोजकसमेत रहेका अध्यक्ष उप्रेतीले प्रष्ट पारे ।

अध्यक्ष उप्रेतीले ‘मिल्क होलिडे’ हुन नदिनका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग लविङ गरिरहेकाले दूधको पाउडर बनाउने उद्योगको स्थापनाबाट यसको समाधान निस्कने पनि औंल्याए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले संस्थाले बैंकिङ्ग कारोबारसँगै अब बहुव्यावसायमा प्रवेश गरिसकेको स्पष्ट पार्दै डेरी उद्योग पछि नमूना कृषि परियोजनामा हात हालेको जानकारी दिए ।

मेचीनगर १३ को दुहागढीमा १३ विघा जमिनमा यसैवर्षदेखि कृषि परियोजना सुरु गरिने र अग्र्यानिक उत्पादनतर्फ प्रवेश गरिने उनले बताए ।

एनएमसीले बहुव्यवसायका साथै सामाजिक उत्तरदायित्वतर्फ पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै उपाध्यक्ष उप्रेतीले संस्थाको रजत वर्षभित्र २५ वटा कार्यालयबाट आफ्ना सदस्यलाई सेवा प्रवाह गर्ने लक्ष्य राखेकोमा गरामनीमा २४औं कार्यालय सञ्चालनमा ल्याइएको र दुई दिन पछि चारपानेमा पनि कार्यालय खोलिने जानकारी दिए ।

यसैबीच, संस्थाका वरिष्ठ प्रबन्धक सूर्यप्रसाद मैनालीले झापा जिल्लाभर कार्यक्षेत्रको स्वीकृति पाएकाले सदस्यहरुको वित्तीय पहुँचका लागि आवश्यकता अनुसार कार्यालय र सेवा केन्द्र विस्तार गर्दै लैजाने नीति रहेको बताएका छन् ।

साझामञ्चसँगको कुराकानीमा उनले स्थानीय सरकार र सरोकारवाला निकायहरुसँग समन्वय गरी यसैवर्ष थप २० स्थानमा सेवा केन्द्र बिस्तार गरी ४४ वटा कार्यालय बनाउने लक्ष्य रहेको पनि बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *