Sajhamanch Archive

बलिवुडको परिवारवाद, सोनु निगम र प्रशान्त तामाङ

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, समाज, by .

सोनु निगम, अरिजित सिंह, गोबिन्दा र इमरान हस्मीहरु रुँदै हिंड्नुपर्ने, सुशान्त सिंह राजपुतजस्ता नव प्रतिभाहरुले झुन्डिएर मर्नुपर्ने बलिवुडमा प्रशान्त तामाङलाई कसले मौका दिँदो हो ?

ह्याग्ङ ओभर तेरि यादोँका ……………

यो निकै चर्चित गीत सन् २०१४ मा रिलिज भएको बलिवुड चलचित्र ‘किक’को हो । जसमा बलिवुडका सल्लुभाइ अर्थात् सलमान खानले अभिनय गरेका छन् । गज्जब लाग्ने कुरा त यो छ कि यो गीत सलमान खानले नै गाएका हुन् । सलमान एक उत्कृष्ट र अत्याधिक सफल अभिनेता भएको कुरामा कुनै दुईमत छैन । तर के गीत गाउनमा पनि उत्तिकै उम्दा छन् ? अवस्य छैनन् ।

एकपटक भारतीय मिडियासँगको छोटो कुराकानीमा चर्चित गायक सोनु निगमले गीत गाउँदै भनेका छन् ‘ह्याङ ओभर मैने गाया था ।’ यो कुरा किन यहाँ उठाइएको हो भने सोनु निगम जस्ता भारतीय संगीतका महारथीलाई गाउन दिइएको गीत एकाएक फिल्ममा सलमानको आवाजमा सुनाइयो, देखाइयो ।

सलमान र सोनुबीच के चलिरहेको छ ? त्यो अर्कै कुरा हो । तर यो सन्दर्भमा सोनु अन्यायमा परेको अनुमान लगाउन गाह्रो छैन । स्थापित बन्दै गएका अर्का गाएक अरिजित सिंहले पनि अचेल मौका नपाएको र उनको करियर सलमानले नै बर्बाद पारेको आरोप लाग्दै आएको छ । कुनै समय विवेक ओवराय, गोविन्दा, इमरान हस्मीजस्ता सफल अभिनेता पनि हाल गुमनाम जस्तै बनेका छन् । खोज्दै जाँदा यो लिस्ट अझै लामो हुने निश्चित छ ।

गत महिना बलिवुड अभिनेता सुशान्त सिंह राजपुतले मुम्बइको बान्द्रामा रहेको आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरे । सानो पर्दाबाट बलिवुड प्रवेश गरेका उनले केही चर्चित फिल्महरुमा अभिनय गर्दै आफ्नो क्षमता देखाइसकेका छन् । भविष्यको राम्रो संभावनाका रुपमा उनलाई हेर्न थालिसकिएको थियो । छोटो समयमै लोकप्रियताको शिखरमा पुगेका राजपुतले आत्महत्या गरेपछि बलिवुडमा परिवारवाद, नातावाद र कृपावाद हाबी भएको भन्दै एकाएक वलिवुड स्टारहरु नै आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

नेपोटिज्म र ग्रुपिज्मका कारण कयौं प्रतिभाहरु ओझेलमा परेको र कतिले त सुशान्त कै जस्तो आत्महत्याको बाटो रोजेको भन्न थालिएको छ । नयाँहरुले मौका नै नपाउने र पाइहाले पनि अधिक मानसिक तथा शारीरिक शोषणमा पर्ने खुलासा बलिवुड स्टार कंगना रनावतले पटकपटक गर्दै आएकी छन् । सुशान्तको आत्महत्या प्रकरणले वलिवुड फेरि एकाएक तातेको छ । परिवारवाद र गुटबन्दीका मुख्य नाइकेका रुपमा सलमान खानलाई तारो बनाइएको छ भने करन जोहर, आलिया भट्ट, मुकेस भट्ट, भुसन कुमार लगायतप्रति पनि बलिवुड फ्यानहरुले निशाना साँधेका छन् ।

सुशान्त आत्महत्या प्रकरणले बलिवुड तातेका बेला एउटा प्रश्न मनमा उब्जिएको छ । भारतीय फिल्म उद्योगमा अवसर खोजेका हाम्रा नेपाली एवम् नेपालीभाषी कलाकारको अवस्था कस्तो होला ?

सन् २००७ मा इन्डियन आइडल बनेका नेपालीभाषी प्रशान्त तामाङले बलिवुडमा केही गर्न नसकेको, बरु कम बजेटका नेपाली फिल्म खेलेको, केही नेपाली गीत मात्रै गाएको भन्दै आलोचना हुने गरेको छ । मान्छेहरुले यतिसम्म भन्न भ्याएका छन् कि भोटले जित्ने भए प्रशान्त जस्तालाई पनि नेपालीहरुले इन्डियन आइडल बनाइदिन्छन् । अर्थात मानौँ उनी नेपालीहरुको भोटकै कारण मात्रै विजेता बनेका हुन्, उनमा त्यो स्तरको कला र क्षमता नै थिएन । उनले बलिवुडमा प्रवेश नै नपाएको र त्यसपछि कतै नदेखिएको, नचिनिएको अवस्थालाई हेर्दा माथि भनिएको ठिकै हो कि जस्तो लाग्छ । तर कारण त्यतिमात्र थिएन होला । उनमा प्रतिभा नै नभएको भए त उनी भोट पाउने ठाउँसम्म अवश्य पुग्ने थिएनन् । पछि उनले बलिवुडमा मौका नै पाएनन् ।

पाउन् पनि कसरी ? जहाँ एक पटकका राष्ट्रिय अवार्ड बिजेता, दुई पटका फिल्म फेयर अवार्ड विजेता दर्जनभन्दा धेरै भाषाहरुमा कयौं लोकप्रिय गीत गाएर बर्सौंदेखि स्रोताको मनमा बस्न सफल सोनु निगमहरु, निकै सम्भावना बोकेका अरिजित सिंहहरु त बलिवुड गुटबन्दीको सिकार बनेर कामबिहीन बनेका छन् भने प्रशान्त तामाङलाई कसले अवसर दिँदो हो !। त्यसमा पनि भारतीय मिडिया जो केही निश्चित प्रोड्युसरहरुको कब्जामा रहन्छन् । तिनमा नयाँले अवसर पाउन निकै संघर्ष गर्नुपर्छ भनिन्छ ।

लाग्छ ९० दशकमा ऐलेको जस्तो नेपोटिजम हाबी थिएन । हाम्रा मनिषा कोइराला, उदितनारायण झाहरुले मौका पाए र आफूलाई साबित पनि गरिदिए । धन्न पो मौका पाएछन् जस्तो लाग्छ । ऐलेकै जस्तो अवस्था हुँदो हो त बलिवुडमा मौका र यो स्तरको सफलता सायदै पाउन सक्थे । सोनु निगम, अरिजित सिंह, गोबिन्दा र इमरान हस्मीहरु रुदै हिड्नुपर्ने, सुशान्त सिंह राजपुत जस्ता नव प्रतिभाहरुले झुन्डिनुपर्ने बलिवुडमा हाम्रा टेरिया मगर, प्रीतम आचार्य, आयुस केसी या अरु थुप्रै नयाँ संभावनाहरुले मौका पाउलान् ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *