Sajhamanch Archive

‘आफ्नो वडालाई पूर्ण विद्युतीकरण गर्नेछु’

Published: (Updated: ) in अन्तर्वार्ता, स्थानीय तह, , by .

बिस्तारै बिस्तारै सहरीकरण हुँदै गएको झापाको लक्ष्मीपुर चोकबाट उत्तर तथा अर्जुनधारा जलेश्वर धाम दक्षिण क्षेत्रमा फैलिएको अर्जुनधारा वडा नं. ५ धार्मिक तथा सांस्कृतिक हिसाबले अग्रणी वडा हो । पौराणिक कालमा पाँच पाण्डवहरुले खेलेको पाण्डवपुर तथा अर्जुनधाराधामको नजिकै रहेकाले यो वडालाई धार्मिकरुपमा बढी चिनाउँछ ।

सहरीकरण हुँदै गरेको यो वडामा थुप्रै सम्भावना र उत्तिकै चुनौति एवम् समस्याहरु पनि छन् । तिनै समस्याहरुलाई किनारा लगाउँछु भनेर अघि सरेका ध्यानबहादुर भारती जनअनुमोदित भएको एक वर्ष पूरा भएको छ ।

चुनावी मैदानमा होमिएका धेरै प्रतिस्पर्धीहरुमध्ये नेपाली कांग्रेसका अमरदिप भेट्वाल र तत्कालिन नेकपा एमालेका ध्यानबहादुर भारतीको प्रतिस्पर्धा अन्तिमसम्म रहेको थियो । अन्ततः ११७२ मत ल्याएर भारतीले विजय प्राप्त गरेका थिए ।

आज हामीले अर्जुनधारा ५ नं. वडाका अध्यक्ष भारतीसँग एक वर्षे कार्यकालको अनुभव संकलन गरेका छौं । अनि उनले पूरा गर्नुपर्ने जिम्मेवारी र बाँकी ४ वर्षका लागि उनले अघि सारेका कार्ययोजनाका बारेमा केहीबेर कुराकानी गरेका छौं ।

जननिर्वाचित भएर काम गर्नु भएको एक वर्ष पूरा भएको छ । यो समयमा कति कार्यहरु सम्पादन गर्नु भयो ?

हामीले विकासका पूर्वाधारमा नै बढी केन्द्रित भएर काम गरिरहेका छौं । ओमचोकदेखि भानु माविसम्मको तीन किलोमिटर र ज्ञानीचोकबाट मुसीचोक जाने एक किलोमिटर बाटो स्तरीय ग्राबेल गरेका छौं । युवालाई रुचिअनुसार खेलकुदका क्षेत्रमा, बालबालिकाका क्षेत्रमा, मठ मन्दिरको पुनः निर्माणका काम गरेका छौं ।

तपाईंलाई आफ्नो घोषण पत्रमा उल्लेख गरेका कुन–कुन कुराहरु यो अवधिमा पूरा गर्नसकेँ जस्तो लाग्छ ?

गरीब, विपन्न वर्गलाई स्तरोन्नति गर्ने उद्देश्यले घरमा बस्नै नसकिने अवस्थामा रहेका परिवारका लागि बैंशाबाडी क्षेत्रमा १० वटा घर निर्माण गरी उपलब्ध गराएका छौं । वडाको र साहारा नेपालको केही लगानीमा ती आवास निर्माण गरिएका हुन् ।

पिछडिएका वर्गलाई बाख्रा साटफेर कार्यक्रम अन्तरगत २० वटा बाख्रा बाँडेका छौं । त्यसबाट जन्मिएका एउटा–एउटा पाठी फेरि अर्काे वर्गलाई हस्तान्तरण गर्ने गरेका छौं । यी कार्यक्रमहरु घोषणा पत्रमा उल्लेख गरेका भित्रै परेका छन् ।

तपाईं भनेको स्थनीय सरकारको मन्त्री हो, पालिका सरकारले केही जिम्मेवारी दिएको छ कि ?

विभिन्न समिति निर्माण आर्थिक, पूर्वाधार, विपत्, सरसफाई आदि समिमि निर्माण गरी वडा सदस्यहरुलाई परिचालन गर्ने कार्य तथा वडाका सम्पूर्ण गतिविधि सञ्चालन गर्र्ने जिम्मेवारी पाएको छु ।

२० वर्ष पछि स्थानीय सरकार गठन हुँदा जनताले कस्तो राहत महसुस गरेका छन् ?

हाम्रा प्रतिनिधि चुनिएर गएका छन् भनेर सबै कार्य सम्पन्न हुन्छ भन्ने ठूलो आशा गरेका छन् । तर सिमित स्रोत र साधन भएकाले हामीले हरेक टोलटोलमा पुगी त्यहाँको महत्वपूर्ण कार्यहरुलाई प्राथमिकतामा राखी काम गरेका छौं ।

आर्थिक वर्ष २०७५/०७६ को योजनाहरु के के छन् ?

लामो समय जनप्रतिनिधि नहुँदा पहुँचवालालाई मात्र विद्युत पुगेको थियो । आफ्नो वडालाई पूर्ण विद्युतीकरण गर्न १० लाख रुपैयाँ विनियोजन गरेको छु । युवा स्वरोजगारका लागि २ लाख, विद्यालयका लागि १० लाख, स्वास्थ्यका लागि ३ लाख, कृषिका लागि १५ लाखको योजना बनाएको छु । चालू आर्थिक वर्षमा यो बजेटलाई पूर्ण कार्यान्वयनमा लगेर अर्कोवर्ष थप सकारात्मक परिणाम लिनेगरी योजना बनाउने छु ।

प्रतिपक्षीबाट कस्तो साथ सहयोग जुटेको छ ?

मेरा प्रतिपक्षीहरुलाई जुनसुकै योजनामा समावेश गराएको छु । मैले गर्ने हरेक कार्यको जानकारी गराउने र सल्लाह लिने गरेको छु । त्यसकारण उहाँहरुबाट पनि मैले साथ सहयोग राम्रो पाएको छु भन्ने लाग्छ ।

घोषण पत्रमा उल्लेख भएका सबै कुरा पूरा गर्न सम्भव छ ?

१०० प्रतिशत त नसकिएला तर क्रमिकरुपमा आवश्यकता अनुसार गर्दै लैजान सकिन्छ । र, मेरो योजना पनि चुनावमा जनतासँग आफूले गरेका प्रतिवद्धता र घोषणापत्रमा उल्लेखित कामहरु क्रमशः गर्दै जाने रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *