Sajhamanch Archive

९८औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइयो

Published: in मुख्य समाचार, समाज, सहकारी by .

झापा । जुलाई महिनाको पहिलो शनिबार आज ९८औं अन्तर्राष्ट्रिय सहकारी दिवस । देशभर विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाइएको छ ।
राष्ट्रिय सहकारी महासंघले विचार गोष्ठी गरेर ललितपुरमा २७औं राष्ट्रिय सहकारी महासंघ दिवस मनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालको प्रमुख आतिथ्यमा महासंघ दिवस मनाइएको हो ।

सो कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री अर्यालले सहकारीमा सम्भावित बित्तीय जोखिमलाई नियन्त्रण गर्न अहिले नै सचेत हुनुपर्ने बताइन् । उनले सहकारीको संख्या अत्यधिक भएका कारण राज्यले मात्रै अनुगमन, नियमन गर्न कठिन रहेको प्रष्ट पार्दै स्वनियमनका कार्यलाई पनि अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याइन् ।

सहकारी क्षेत्रप्रतिको आम जनताको विश्वास कायम राख्‍न अहिलेदेखि नै सचेत रहनुपर्ने मन्त्री अर्यालको भनाइ थियो । त्यसका निम्ति केन्द्रीय सहकारी संघहरु बढी क्रियाशील बन्नुपर्ने उनको सुझाव छ ।

केही कानूनहरु संशोधन गरेर जानुपर्ने भएकाले आजको आवश्यकतालाई पूर्ती गर्नेगरी ऐन संशोधन गर्न अगाडि बढिरहँदा पनि टुंग्याउन नसकिएको मन्त्री अर्यालको जिकिर छ । ‘तपाइहरु एकमत भएर टुंग्याइदिनुस, मेरो बिनम्रतापूर्वक आग्रह छ । डेढ वर्ष भयो टुंगिनै सकेन । यत्रो समयसम्म टुंगिनै नसक्ने शोभनीय कुरा होइन’, मन्त्री अर्यालको भनाई छ ।

९८औं अन्तर्राष्ट्रिय सहकारी दिवसलाई झापाका विभिन्न सहकारीहरुले पनि रचनात्मक कार्यक्रम गरेर पालना गरेका छन् । साझामञ्चलाई प्राप्त जानकारी अनुसार झापाको बिर्तामोडमा रहेको न्यू भिजन साकोसले अहिले साँझ कार्यालय परिसरमा दिप प्रज्वलन गरी मनाएको छ ।

संस्थाका अध्यक्ष रोशन सुवेदी, सदस्य सचिव शार्दुलहाङ ओलीसहित कर्मचारीहरुले दिप प्रज्वलन गरी अन्तर्राष्ट्रिय सहकारी दिवसको स्मरण गरेका हुन् ।

२०७० सालमा स्थापना भएर सञ्चालित न्यू भिजन साकोसमा पछिल्लो साधारणसभाबाट अभियानका लागि केही गरौं भन्ने उर्जाशील नयाँ नेतृत्व चयन गरेपछि रचनात्मक कार्यतर्फ उन्मुख भएको हो ।

सो संस्थामा १२ सय ५० जना सदस्यबाट एक करोड चार लाख ४८ हजार ७०० रुपैयाँ शेयर पूँजी जुटाइएको छ । संस्थाका सदस्य सचिव ओलीका अनुसार गत जेठ मसान्तसम्म संस्थामा दुई करोड ६० लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन भएको छ भने तीन करोड ५३ लाख ४५ हजार कर्जा लगानी गरिएको छ । संस्थासँग १३ लाख २४ हजार ६०० रुपैयाँको कोष रहेको बताइएको छ ।

यसैगरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा आश्रितहरुलाई फलफूल वितरण गरेको छ ।

एनएमसी स्वास्थ्य समितिको आव्हानमा संस्थाका ४० वटै कार्यालयगत समिति तथा कार्यालयका कर्मचारीहरुको समन्वयमा फलफूल वितरण गरिएको हो । विभिन्न मुलुक तथा देशकै अन्य जिल्लाबाट झापा आएर आफ्नो घरजानुपूर्व कोरोनाको संक्रमण भए नभएको परीक्षण गर्न क्वारेन्टिनमा बसेर सहकार्य गरेको सम्मानमा एनएमसी स्वास्थ्य समितिले फलफूल वितरण गरेको जनाइएको छ ।

झापाको मेचीनगरमा मुख्य कार्यालय रहेर जिल्लाभर कार्यक्षेत्र भएको एनएमसीले १५ वटै स्थानीय तहमा व्यवस्था गरिएका क्वारेन्टिनमा पुगेर फलफूल बितरण गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *