Sajhamanch Archive

प्रदेश १ मा कोरोना नियन्त्रणको खर्च छानबिन गर्न लेखा समिति सक्रिय

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by .

विराटनगर । प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा राज्यकोषबाट गरेको खर्चबारे सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ ।

प्रदेशसभाको सार्वजनिक लेखा समितिले यसको प्रक्रियाअघि बढाउन आइतबार कांग्रेस सांसद लोकप्रसाद संग्रौलाको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । समितिको सदस्यमा नेकपाका सांसद कुलप्रसाद साम्बा, बसन्त बानियाँ र अम्बिका थापा छन् । समितिमा कांगे्रसकी सन्जाकुमारी दनुवार पनि सदस्य छन् ।

लेखा समितिले व्यापक रुपमा छानबिन गर्न उपसमिति गठन गरेको बताउँदै समितिका सभापति शिवनारायण सिंह गन्गाईंले भने,“कोरोनाको रोकथाम र नियन्त्रणको लागि सरकारले गरेको खर्चको विषयमा संसद बैठकमै कुरा उठेपछि छानबिन गर्न अनिवार्य ठानेर उपसमिति बनाएका हौं ।” उपसमितिले भोलिबाटै छानबिन र अध्ययन थाल्ने गन्गाईले जानकारी दिएका छन् ।

प्रदेश १ सरकारले कोशी कोभिड अस्पताल निर्माणदेखि गोठगाउँमा आइसोलेसन सञ्‍चालन, धरानको वीपी प्रतिष्ठानमा कोभिड अस्पताल, कोरानो परीक्षण ल्याब , क्वारेन्टिन स्थल र होल्डिङ एरिया निर्माण गरेर सञ्‍चालन गर्दै आएको छ । सरकारले कोरोनाबाट प्रभावित भएका जनसाधारणलाई राहत वितरण गर्न स्थानीय तहमार्फत समेत सहयोग उपलब्ध गराइएको जनाएको छ । यसैगरी जिल्ला समन्वय समिति र सुरक्षा निकायलाई समेत रकम उलपब्ध गराएको छ ।

प्रदेश सरकारले दुई दिनअघि मात्र कोरोना रोग नियन्त्रण, उपचार र जनचेतनामा भएको खर्च पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । सरकारले हालसम्म कोरोना कोष र सामाजिक विकास मन्त्रालय तथा संघीघ सरकारबाट प्राप्त भएको सहयोग समेत कूल रु. २५ करोड खर्च भएको प्रमुख सचिव दिनेश भट्टराइले जानकारी दिएका छन् ।

संसदमा प्रमुख विपक्षी कांग्रेसले भने शीर्षगत रुपमा सबै खर्च सार्वजनिक हुनुपर्ने माग गर्दै आएको छ । सदनमा प्रश्न उठेपछि केही दिनअघि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कोरोना खर्चबारे जवाफ दिएका थिए ।

सार्वजनिक लेखा समितिमा सभापति गन्गाई भन्छन्,“मिहीन र सुक्ष्म ढंगबाट नै खर्चबारे अध्ययन गर्न लागेका हौं । खर्च विवरण छानबिन गरी निश्कर्ष आएपछि सार्वजनिक गर्नेछौं ।” उनले सत्तासीन र विपक्षी दलका सांसदले समेत सरकारले दिएको खर्चबारे चित्त बुझाएको अवस्था नरहेकोले समिति नै अग्रसर भई छानबिन थाल्न लागेको सुनाए ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *