Sajhamanch Archive

प्रदेश १ मा ५१ प्रतिशत रोपाइँ सकियो

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by .

मोरङ । प्रदेश १ मा असार २१ गतेसम्म ५१ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेश १ का १४ जिल्लामध्ये भौगोलिक रुपमा झापा, मोरङ र सुनसरीमा ५६ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ ।

मध्य पहाडका इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुरका जिल्लामा ४४ दशमलव ६० प्रतिशत रोपाइँ भएको प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले उच्च पहाडको ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा भने ३० प्रतिशत रोपाइँ सकिएको छ । तीन लाख ४० हजार आठ सय २९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनुपर्नेमा १ लाख ७४ हजार ३०६ हेक्टरमा धान रोप्ने काम पूरा भएको प्रवक्ता उप्रेतीले बताए ।

जिल्लागत रुपमा मोरङ र तेह्रथुम जिल्लामा सबैभन्दा बढी ६५ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा कम सङ्खुवासभामा २० र ओखलढुङ्गामा २२ प्रतिशत मात्र रोपाइँ भएको डा. उप्रेतीले जानकारी दिए ।

गएको वर्ष २०७६ असार २४ गतेसम्ममा प्रदेश १ को धान रोपाइँको अवस्था योभन्दा निकै कम थियो । मन्त्रालयका अनुसार गएको वर्ष असार २४ गतेसम्ममा २८ दशमलव १६ प्रतिशत रोपाइँ भएको थियो । यो वर्ष धान रोपाइँ बढ्नुको मुख्य कारणको रुपमा समयमै पर्याप्त वर्षा हुनुलाई विज्ञले लिएका छन् ।

स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *