Sajhamanch Archive

निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगित, अनलाइन कक्षा जारी रहने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारसँगको वार्ता सकारात्मक रहेको भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । उनीहरूले अनलाइन पढाइ अवरुद्ध नगर्ने निर्णयसमेत गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलसँग भएको छलफलमा आफ्नो माग पूरा हुने संकेत देखिएको र संवाद जारी रहेकाले आन्दोलन स्थगित गरिएको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टिकाराम पुरीले जानकारी दिए ।

लकडाउन अवधिको पनि शुल्क संकलन गर्न नपाएको भन्दै विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । सरकारले आधिकारिक रुपमा असारबाट मात्रै अनलाइन कक्षा सुरु गरे पनि प्याब्सन र एनप्याब्सन (निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन)ले भने वैशाखदेखिकै शुल्क लिन पाउनुपर्ने माग गरिरहेका छन् ।

कोभिड–१९ महामारीबीच तुरुन्तै विद्यार्थी भर्ना गर्न पाउनुपर्ने उनीहरूको माग छ । सरकारले बैङ्क ब्याज र विद्यालय भवनको भाडा मिनाहाजस्ता राहत प्याकेज ल्याउनुपर्ने पुरीको भनाइ छ ।

पढाइ अवरुद्ध नगर्ने निर्णय

अनलाइन,  रेडियो, टेलिभिजन र केवल टिभीमार्फत भइरहेको कक्षा असार २२ गतेदेखि अनिश्चित कालका लागि रोक्ने घोषणा प्याब्सन र एनप्याब्सनले गरेका थिए । मन्त्रालय, शिक्षक महासंघ, अभिभावक संघ र निजी विद्यालयमा कार्यरत शिक्षकहरूसँगको संयुक्त छलफलपछि प्याब्सनले पढाइ अवरुद्ध नगर्ने निर्णय गरेको पुरीले  जानकारी दिए ।

३१ लाख विद्यार्थी पढ्ने निजी विद्यालयहरूका लागि शिक्षा मन्त्रालयले राहत र सहजीकरण नगरेको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आरोप लगाए । वार्ताबाट सकारात्मक नतिजा नआए पुनः आन्दोलन गर्ने सापकोटाले चेतावनी दिए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *