Sajhamanch Archive

एक व्यक्तिले दुई सिम मात्र राख्न पाउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिइसकेको छ ।

यद्यपि, एक व्यक्तिले फरक- फरक सेवा प्रदायकको गरी दुई ओटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले नेपाल टेलिकमका दुईओटा, एनसेलका दुईओटा र स्मार्ट सेलका दुईओटासम्म सिम प्रयोग गर्न पाउनेछन् ।

एउटा सेवा प्रदायक कम्पनीबाट भने दुई वटाभन्दा बढी सिमकार्ड लिन पाउनेछैन । दूर सञ्चार सेवा प्रदायक कम्पनीको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो । नेपाल टेलिकमको हकमा भने सिडिएमएको थप एक सिम कार्ड राख्न पाउने व्यवस्था भएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

मोबाइलबाट अनलाइन कारोबारलगायतका गतिविधि भएपछि साइबर सुरक्षाका लागि यस्तो गरेको प्राधिकरणको भनाइ छ । यसअघि दुईओटा भन्दा बढी सिम भएकाहरूको पनि तथ्यांक लिन थालिएको प्राधिकरणले स्पष्ट पारेको छ । नाबालकको हकमा पनि अभिभावकको नागरिकता राखेर एउटा सिम लिन सकिने व्यवस्था गरिएको छ ।

मोबाइल सेवा प्रदायकहरूले आफैंले वा तोकिएको आधिकारिक बिक्रेताहरूमार्फत सिमकार्ड बिक्री वितरण गरिरहँदा कसैगरी एक व्यक्तिको परिचयपत्रको प्रतिलिपि अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रूपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैंकिङ सेवा, इमेल सेवा, फेसबुकलगायतका सामाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरू तथा डाटामा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जानेतर्फ पनि प्राधिकरणले सचेत गराएको छ ।

सुरक्षा खतरासमेत बढ्ने भएकाले अब उप्रान्त सिमकार्डको बिक्री वितरण गर्दा तथा हराएको वा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड उपलब्ध गराउँदा अनिवार्य रूपमा ग्राहक स्वयं उपस्थिति भई ग्राहकको सक्कल परिचय पत्रसँग प्रतिलिपि रुजु गर्नुपने निर्देशन पनि प्राधिकरणले दिएको छ । ग्राहक उपस्थित हुन नसक्ने भए वारिसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड उपलब्ध गराउने उल्लेख छ ।

सिमकार्डबाटै बैंकिङ तथा मोबाइल बैंकिङलगायतका कारोबार हुने भएकाले पनि यस्तो खालको निर्णय आवश्यक रहेको प्रवक्ता अर्यालले बताए । उनले भने, ‘एउटै व्यक्तिको नाममा धेरै कार्ड हुँदा अपराधसम्बन्धी विभिन्न गतिविधिमा दुरुपयोग नहोस् भन्नका लागि यो व्यवस्था गरिएको हो ।’

प्राधिकरणको गत साता बसेको सञ्चालक समितिको बैठकले एक व्यक्तिले एउटा सेवा प्रदायक कम्पनीबाट दुई वटाभन्दा सिमकार्ड लिन नपाउने व्यवस्था गरेको हो । सो निर्णयलाई कार्यान्वयनमा ल्याउन आइतबार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई पत्र काटेर यसबारे जानकारी गराएको हो ।

स्रोत  : राजधानी दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *