अहिले गुलियो प्रस्ताव आएपनि हामी लहसिने अवस्थामा छैनौँ : प्रवक्ता शर्मा
Published: (Updated: )
by .काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागि नहुने प्रष्ट पारेको छ । सत्तारुढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरुसँग बाक्लिएको भेटघाटको सन्दर्भमा काँग्रेसले कुनैपनि हालतमा अहिले सरकारमा सहभागि नहुने प्रष्ट पारेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपाका अन्य नेता र काँग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि भइरहेका अड्कबाजीका बीच काँग्रेसले कुनै पनि हालतमा सरकारमा सहभागि नहुने प्रष्ट पारेको हो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो या त्यो परिस्थिति उत्पन्न भएपनि अहिलेको कार्यकाल काँग्रेस मन्त्रालय चलाउने मानसिकताले सिंहदरबार नछिर्ने बताए । प्रधानमन्त्री ओलीले सभापति देउवासँगको भेटमा विभिन्न ‘अफर’ गरेको भन्ने सन्र्दभमा उनले भने, ‘यो या त्यो परिस्थिति उत्पन्न भएपनि यो कार्यकाल माग राखेर सिंहदरबार जाने कुरा बेग्लै छ । तर मन्त्रालय चलाउने मानसिकताले जाने छैनौँ ।’
उनले अगाडी भने, ‘‘प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई हामीले रमाइलोका रुपमा हेरिरहेका छौँ । प्रधानमन्त्रीले देउवा नै काँग्रेसको अन्तिम प्रधानमन्त्री हुन् । काँग्रेसका दिन अब गए भनेर दिएका अलोकतान्त्रिक अभिव्यक्ति पनि छन् विगतमा तर त्यसमा पनि हामीले कुनै कडा प्रतिक्रिया दिएनौँ । तर अहिले गुलियो प्रस्ताव आएपनि हामी लहसिने अवस्थामा छैनौँ । किन कि जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएका छन् ।’’
काँग्रेस सरकारमा जान लाग्यो की भन्ने आशंकामा नरहन उनले पार्टीका कार्यकर्ताहरुलाई समेत आग्रह गरे । प्रधानमन्त्री ओली र सुवास नेम्वाङले मात्रै नभएर नेकपाका अन्य नेताहरुले पनि देउवासँग भेटघाट गरेपनि पार्टीभित्रको आन्तरिक द्वन्दमा काँग्रेस यो वा त्यो पक्षमा उभिन लाग्यो की भन्ने खालको आफ्नो नेतृत्वबाट आएको विषयलाई भ्रमका रुपमा नलिन नेकपा नेताहरुलाई उनले आग्रह गरे ।
प्रवक्ता शर्माले नेपाली काँग्रेसले छिमेकीको धुरी टुटेर आफ्नो पर्खाल अग्लो होस भन्ने मान्यता नराख्ने पनि बताए । जनताले ५ वर्षका लागि दिएको म्याण्डेटलाई जिम्मेवार प्रतिपक्षको रुपमा घनिभूत ढंगले निर्वाह गर्ने उनले बताए । सरकारले गरेका राम्रा कामहरुको समर्थन र कमजोरी गर्दा औला उठाउनुपर्छ भन्ने मान्यता काँग्रेसले राख्ने उनले बताए ।
संसद अधिवेशन अन्त्य हुनुभन्दा एकदिन अगाडी सभापति देउवासँग भेटभएपनि त्यो विषयमा कुनै पूर्व सूचना प्रधानमन्त्रीले नदिएको उहाँले बताए । विधि र प्रचलित मान्यता अनुसार अधिवेशन अन्त्यको जानकारी प्रतिपक्षी दल, सभामुख राष्ट्रियसभाका अध्यक्षलाई हुनुपर्ने भएपनि त्यस्तो नभएको उनले बताए । उनले राष्ट्रपतिलाई संस्थाहरुको रुपमा नभएर व्यक्तिको रुपमा लिएर त्यसको गरिमा गिराउने काम भइरहेको बताए ।
स्रोत : रातोपाटी
Comments