Sajhamanch Archive

कांग्रेसको महाधिवेशन कार्यतालिका : निर्णय गर्नेहरू नै विश्वस्त छैनन्

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वनिर्धारित समय फागुनमै १४औं महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेको छ ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १० साउनभित्र अन्तरिम संरचना समायोजन गरी कार्यतालिका बनाएको छ । त्यसपछि बल्ल महाधिवेशन केन्द्रित काम सुरु हुनेछ । तर कार्यतालिकाअनुसार महाधिवेशन हुनेमा स्वयं केन्द्रीय सदस्य समेत विश्वस्त छैनन् ।

के छ कार्यतालिका ?

संशोधिन कार्यतालिकाअनुसार १० साउनभित्र बाँकी जिल्लाहरूको समायोजन सक्नुपर्नेछ । ५१ जिल्लाको समायोजन सकिएको छ भने २६ जिल्लाको बाँकी छ ।

यस्तै, क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि २५ असारबाट सुरु हुनेछ भने साउन मसान्तभित्र सक्ने कार्यतालिका छ । भदौ मसान्तसम्म यो क्रियाशीलको सूची केन्द्रमा आइपुग्नुपर्छ । त्यसपछि केन्द्रीय छानबिन समितिले उजुरी आह्वान, छानबिनलगायतका सबै प्रक्रिया पूरा गरेर १५ मंसिरभित्र निर्णय गरिसक्नुपर्नेछ ।

क्रियाशीलको सबै काम सकिएपछि बल्ल अधिवेशन सुरु हुनेछ । जसको कार्यतालिका यस्तो छः

निर्णय गर्नेहरू नै विश्वस्त छैनन्

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यतालिकाको माग गर्दै आएका थिए । त्यसअनुसार कार्यतालिका संशोधन नगर्ने हो भने महाधिवेशन सार्न खोजेको आरोप लाग्ने भएकाले सभापति शेरबहादुर देउवा पौडेलको माग अनुसार कार्यतालिका तय गर्न तयार भए । तर उनले बैठकमै यो कार्यतालिकाको मुख्य नेता पौडेल भएको बताए ।

बैठकमा देउवा निकट मानिएका नेताहरूले पनि खुलेर कार्यतालिकाअनुसार काम हुनेमा आशंका गरेका थिए । उसो त पौडेल निकट नेताहरूले पनि यसअनुसार सबै प्रक्रिया पूरा गरेर फागुनमै अधिवेशन हुन्छ भन्न सकेका थिएनन् । ‘असार र साउनमा वर्षा र कोरोना कोरोनाका कारण धेरै काम हुन सक्दैन’ एक नेता भन्छन्, पुस माघमा हिमाली जिल्लाहरूमा अधिवेशन गर्न सम्भव हुन्न ।’

तर अहिले नै फागुनको साटो अर्को मितिमा गरौंभन्दा अधिवेशन नै सार्न खोजेको आरोप लाग्न भएकाले कोही अगाडि नसरेको कांग्रेस नेताहरूले बताएका छन् ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *