Sajhamanch Archive

मेची अस्पतालमा पीसीआर ल्याब स्थापनाको तयारी अन्तिम चरणमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड। झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रयोगशाला स्थापना गर्ने स्थानको व्यवस्थापन करिब करिब सकिएको र मेसिन आए परीक्षण शुरु गर्न सकिने अवस्थामा रहेको मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिए। अस्पतालमा कोरोना परीक्षणका लागि प्रदेश नं. १ सरकारमार्फत् मेसिन आउनेछ ।“सानो वा ठूलो कत्रो मेसिन आउँछ भन्ने यकिन भएको छैन, तर पनि दुवै मेसिन राख्न सकिने स्थानको व्यवस्थापन भइरहेको छ”, उनल ेभने । प्रयोगशालामा कोरोना परीक्षणका आवश्यक अन्य सामग्री खरीदका लागि अस्पतालले बोलपत्र समेत आह्वान गरेको छ । जसमा दुई वटा फर्मबाट आवेदन परेको मेसु ठाकुरले बताए ।

“आवश्यक सामग्री खरीदका लागि प्रदेश सरकारबाट ३६ लाख रुपैयाँ माग गरेका छौँ”, उनले भनने, “अहिले रकम निकासा भएको छैन, पैसा आएपछि अरु प्रक्रिया पनि अघि बढाउँछौँ ।” रकम र मेसिन आए तत्काल काम शुरु गर्न सकिने उनको भनाइ छ ।

सानो पोर्टेवल मेसिन आए दैनिक ३०र३५ वटा स्वाब परीक्षण गर्न सकिने छ भने ठूलो अटोमेटिक मेसिन आए दैनिक ४०० वा सो भन्दा बढी स्वाब परीक्षण गर्न सकिने छ । “२४सै घण्टा काम गरेर परीक्षणको संख्या बढाउन सकिन्छ”, डा. ठाकुरले बताए ।

प्रयोगशाला सञ्चालनका लागि आठ जना जनशक्ति आवश्यक पर्छ । जसमा छ जना ल्याब विशेषज्ञ र दुई जना कार्यालय सहयोगी आवश्यक पर्ने मेसु ठाकुरले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *