बाढी पहिरो : प्रदेश १ मा १३ जना बेपत्ता, तीनजनाको जिवितै उद्दार
Published:
by .विराटनगर । अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परी प्रदेश १ मा १३ जना बेपत्ता भएका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी ११ जना र बाढीमा २ गरी १३ जना बेपत्ता भएका हुन् ।
आइतबार बिहान करिब २ बजे राति संखुवासभा सिलिचोङ गाउँपालिका– १ को बेसिन्दा भन्ने स्थानमा पहिरोमा परी ११ जना बेपत्ता भएका छन् ।
पहिरोमा ८ घर बगेका छन् । गाउँपालिका अध्यक्ष रामबहादुर राईका अनुसार बेपत्ताको खोजीकार्य जारी छ । उनका अनुसार पहिरोमा पुरिएका तीनजनालाई जिवितै उद्दार गरिएको छ ।
बेपत्ताको खोजीका लागि संखुवासभा र भोजपुरबाट ११९ जनाको प्रहरी टोली परिचालित भएको छ ।
आइतबार बिहान् सप्तकोशी नदीमा एक बालक बेपत्ता भएका छन् । आइतबार बिहान बाढीसँगै आएको दाउरा निकाल्न नदीमा पसेका १३ वर्षीय बालक अनिल बस्नेत नदीमा बेपत्ता भएका हुन ।
सुनसरी बराहक्षेत्र नगरपालिका– ६ बोराबानमा कोशी किनारास्थित दाउरा खोज्ने क्रममा देवीघाट बस्ने गौवाबहादुर बस्नेतका छोरा अनिल दाउरा निकाल्न नदीमा पसेका थिए । तर उनलाई नदीले बगाएको थियो ।
शनिबार दिउँसो झापाको भद्रपुरका ३३ वर्षीय पुरुष मेची खोलामा बेपत्ता भएका छन् । भद्रपुर नगरपालिका– ३ नाउगाटका राई नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
तीन स्थानमा बेपत्ता भएका १३ जनाको खोजी कार्य जारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
Comments