Sajhamanch Archive

संखुवासभा पहिरो अपडेट : खाँदबारीबाट हिँडेको उद्धार टोली अझै घटनास्थल पुग्न सकेन

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by .

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नंं.१ बेसिन्दा गाउँमा आइतबार बिहान गएको पहिरोमा परेकाहरुको उद्धारको लागि सदरमुकाम खाँदबारीबाट गएको टोली घटनास्थल पुग्न सकेको छैन।

सदरमुकाम खाँदबारीबाट पैदल हिँडेर एकदिन लाग्ने विकट सिलिचोङ गाउँपालिकासम्म यातायातको सुविधा छैन । ६० जनाको टोली आज दिउँसो मात्रै घटनास्थल पुग्ने नेपाली सेनाको बराह दल खाँदबारीका गुल्मपति सुमन श्रेष्ठले जानकारी दिए ।

दिनभर अविरल वर्षाका कारण बाटोका विभिन्न ठाउँहरुमा सानातिना पहिरोहरु झरेको र घटनास्थल समेत टाढा रहेकाले आज दिउँसो मात्रै पुग्ने गुल्मपति श्रेष्ठको भनाइ छ ।

आइतबार दिउँसो १ बजेतिर ताम्कुमा रहेको सेनाको टोली, सिसुवा र ताम्कुमा रहेको प्रहरीको टोली घटनास्थल पुगेका थिए । तर उनीहरु समेत अविरल वर्षाका कारण उद्धारमा खटिन सकेका छैनन् । घटनास्थलमा सिलिचोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र राईको नेतृत्वमा टोली खटिएको छ ।

त्यसैगरी सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा पहिरोको उच्च जोखिम भएका ७३ घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले बताए ।

७३ घरका ३ सय ५० जनाभन्दा बढीलाई सिसुवा नजिकैको चित्रेमा सारिएको छ । आइतबार बेसिन्दामा गएको पहिरोले ९ घर बगाएको छ भने अहिलेसम्म ११ जना बेपत्ता छन् । ४ जनाको जीवितै उद्धार गरिएको छ ।

स्थानीयबासिन्दा र प्रहरी बेपत्ताको खोजी कार्यमा खटिएका छन् ।

स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *