Sajhamanch Archive

एफएनसीसीआईमा चुनावी सरगर्मी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by .

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी तातेको छ । यही साउन २६ र २७ गते हुने महासंघको अधिवेशनमा दुई उद्योगी व्यवसायीहरु प्यानलले नै लिएर चुनावी मैदानमा उत्रिने भएपछि उद्योगी व्यवसायीहरुको छाता संगठनमा चुनावी सरगर्मी छाएको हो।

महासंघको वपरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्था छ । सो व्यवस्था अनुसार साउन २६ पछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको अध्यक्ष चयन हुनेछन् । त्यसपछि अन्य पदका लागि भने निर्वाचन हुने लगभग निश्चित छ ।

अर्को कार्यकालका लागि अध्यक्ष हुने लक्ष्यसहित हालका दुई उपाध्यक्षहरु किशोर प्रधान र चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा चुनाव लड्दैछन् । उनीहरुले लकडाउन हुनु अगावै उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

अब उनीहरु आफू–आफू मात्रै नभएर प्यानलै बनाएर चुनावमा जाने तयारीमा छन् । ढकाल समूहको प्यानल आज मंगलबार औपचारिक रुपमा घोषणा हुँदैछ भने प्रधान समूह पनि प्यानल घोषणको तयारीमा छ ।

ढकाल समूहले मंगलबार कुन पदमा कसलाई उठाउने भनेर औपचारिक रुपमै घोषणा गर्दैछ । यसका लागि सो समूहले मंगलबार दिउँसो बालुवाटरको एक पार्टी प्यालेसमा घोषणा सभाको आयोजना गरेको जनाइएको छ ।

ढकाल समूहबाट जिल्ला–नगर उपाध्यक्षमा गुणनिधि तिवारी उठ्दैछन् । उनी महासंघको प्रदेश ५ कमिटीको अध्यक्ष हुन् ।

वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने भएका छन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघईलाई उम्मेदवार बनाउने तयारी भएको ढकाल समूहले जनाएको छ ।

अर्कोतर्फ प्रधान समूहबाट जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दिनेछन् । उनी महासंघको प्रदेश ३ कमिटीका अध्यक्ष हुन् । प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अटो व्यवसायी अञ्जन श्रेष्ठ उठ्ने भएका छन् भने एशोसिएट उपाध्यक्षका लागि शौरभ ज्योति तयार भएका छन् ।

ढकाल समूहले बुधबार नै प्यानल घोषणा गर्ने भए पनि प्रधान समूहले भने अहिले नै प्यानल घोषणाका लागि मिति तय गरेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *