समुदायमा कोरोना परीक्षण गर्ने प्रदेश सरकारको तयारी
Published: (Updated: )
by .विराटनगर । १ नम्बर प्रदेशमा समुदायमा कोरोना जाँच गरिने भएको छ । प्रदेश १ मा क्वारेन्टाइनमा मात्र कोरोना संक्रमण देखिएको छ । समुदायमा संक्रमण देखिएको छैन ।
प्रदेश सरकारले नमूनाका रूपमा समुदाय स्तरमा पनि परीक्षण गर्ने तयारी गरेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । ‘क्वारेन्टाइनमा मात्र हैन समुदायमा पनि नमूनाका रूपमा परीक्षण गर्न आवश्यक देखियो,’ उनले भने, ‘कोरोना उपचार केन्द्र र क्वारेन्टाइनबाट डिस्चार्ज भएकाहरूको परिवार र आसपासका स्थानको छनौट गरेर नमूनाका रूपमा परीक्षण गर्छौं ।’
कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि अग्रभागमा रहेर काम गरिरहेका तीनै वटै सुरक्षा निकायका १ हजार ५ सयको परीक्षण गरिएको मन्त्री घिमिरेले बताए ।
सुरक्षाकर्मीपछि स्वास्थ्यकर्मीको परीक्षणको तयारी सुरु गरिएको उनले बताए । ‘निजी अस्पताल सञ्चालकहरूको संगठन अफिनसँगको सहकार्यमा स्वास्थ्यकर्मीको परीक्षण गरिने छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीको परीक्षणपछि समुदायस्तरमा परीक्षण गरिने छ ।’
परीक्षणको दायरा बढाउनका लागि माग बढिरहेकाले समुदायस्तरमा पनि परीक्षण गर्न लागिएको उनले बताए ।
Comments