Sajhamanch Archive

टिकटक बनाउने दुई प्रहरीमाथि छानबिन सुरु

Published: in मिडियाबाट साभार, समाज by .

विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत दुई प्रहरी टिकटक बनाएको विषयलाई लिएर छानबिनको दायरामा तानिएका छन् ।

विवादित तवरबाट पोशाकमै टिकटक बनाएर फेसबुकमा पोस्ट गरेकाले कारबाही अघि बढाउन हवल्दार रेनुका सोनाम र जवान अशोक राईमाथि छानबिन सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

प्रहरी संगठनको आचरण र मर्यादा विपरित गतिविधी गर्दै सोनाम र राईले एउटै टेबुलमा बसेर बनाएको टिकटक सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि कारबाही सुरु गरिएको उनको भनाइ छ ।

टिकटक बनाउँदा उनीहरुले आफ्नो अगाडि टेबुलमा प्रहरीका दुईवटा सञ्चार सेट (वाकिटाकि) पनि राखेका छन् । डीएसपी राईकाअनुसार उक्त टिकटक प्रहरी प्रधान कार्यालयले जारी गरेको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका विपरित हो । उनीहरुले कुन गीत वा डाइलगमा टिकटक भिडियो बनाए भन्ने कुरा मोरङ प्रहरीले गोप्य राखेको छ ।

डीएसपी राईले दुई जना मिलेर बनाएको टिकटक फेसबुकमा उनीहरुले नै पोस्ट गरेको वा अरुले गरिदिएको हो भन्ने बारेमा पनि छानबिन गरेर कारबाही अघि बढाइने बताए । निर्देशिकाअनुसार प्रहरीमा कार्यरत रहेकाले पोशाक वा प्रहरीको चिन्ह प्रयोग गरेर व्यक्तिगत रुपमा खिचेको फोटो वा भिडियो आफू स्वयंले सामाजिक सञ्जालमा पोस्ट गर्न नमिल्ने उनको भनाइ छ ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *