Sajhamanch Archive

संस्थागत विद्यालय शिक्षक युनियनले हल्दिवारीमा बुझायो ज्ञापनपत्र

Published: in विविधा, समाज by .

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले हल्दिवारी गाउँपालिका क्षेत्रका अधिकांश संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको शैक्षिक वर्ष २०७६ सालको काम गरिसकेको समयको तलब नदिएको प्रति गम्भीर ध्यानाकर्ष गर्दै गाउँ शिक्षा समितिलाई ज्ञापन पत्र बुझाएको छ ।

युनियन प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले शैक्षिक वर्ष २०७६ सालको पौष महिनायताको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले अन्याय गरेको प्रति गम्भीर ध्यानाकर्षण गर्दै गाउँ शिक्षा समितिका अध्यक्ष डम्बरबहादुर गिरीलाई शिक्षक कर्मचारीको तलव अविलम्व भुक्तानी गर्ने वातावरण निर्माणको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

युनियन झापा अध्यक्ष होमराज खतिवडा तथा प्रदेश १ का सहसचिव राजु वरालले हस्ताक्षर गरेको ज्ञापन पत्रमा वर्षभरी काम गरेका शिक्षक कर्मचारीलाई संरक्षण गर्नु पर्ने दायित्व भएका विद्यालय सञ्चालकहरूले प्याब्सन, एन प्याब्सनका नाममा काम गरेको समयको पारिश्रमिक रोकेर बेतलवी विदाको हल्ला फिँजाई आतंकित पारेकाले कानुन अनुसार कारवाहीको माग गरिएको छ ।

ज्ञापन पत्रमा संस्थागत विद्यालयमा काम गरेर जीविका चलाइरहेका शिक्षक तथा कर्मचारीहरूले काम गरेको समयको तलव भत्ता रोकेर विद्यालय सञ्चालकले बौद्धिक श्रमिकको बाच्न पाउँने अधिकारमाथि नै हस्तक्षेप गरेको ठहर समेत गरिएको छ । त्यहाा भनिएको छ—“वर्षभरी विद्यालयको उन्नति प्रगतिका लागि परिश्रम गर्ने शिक्षक कर्मचारीलाई बन्दाबन्दीको बाहना देखाएर दिनु पर्ने पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले सडकमा माग्ने अवस्थामा पुर्याएको प्रति खेद समेत प्रकट गरिएको छ । विद्यालयको वार्षिक परीक्षा सञ्चालन गर्दा चैत्र पहिलो हप्ता भित्रै अधिकाम्स अभिभावकहरूले वार्षिक शुल्क समेत तिरिसकेको भए पनि पैसा नउठेको बाहना बनाएर तलव दिन आनकान गर्ने कार्य नैतिक रूपमा पनि पतनोन्मुख घटना भनि आपत्ति समेत जनाइएको छ ।”

त्यस्तै ज्ञापन पत्रमा विद्यालयको शैक्षिक उन्नयनमा अहोरात्र खटिने शिक्षक कर्मचारीको दैनिक गुजाराको आधार विद्यालय भएको वास्तविकता बुझेर सञ्चालकहरूले नाफा घाटाको नजरबाट नहेर्नका लागि समेत आग्रह गरिएको छ ।

यता ज्ञापन पत्र बुझ्दै गाउँ शिक्षा समितिका अध्यक्ष गिरीले देशभरका स्थानीय तहहरू मध्येमा शिक्षा क्षेत्रको नमुना गाउँ पालिका बनाइएको जानकारी दिँदै सरकारले तोकेको न्युनतम पारिश्रमिक पूर्ण रूपमा लागु हुने वातावरण तयार पारेको जानकारी दिए । अध्यक्ष गिरीले शिक्षक कर्मचारीको तलव अविलम्व पाउँने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउँदै श्रमजीवि शिक्षक कर्मचारीको पक्षमा गाउँपालिका रहने प्रष्ट पारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *