Sajhamanch Archive

कांग्रेसमा गुटगत विवाद देखिन थाल्यो

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । महाधिवेशन प्रक्रिया सुरु भएसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रका असन्तुष्टि सार्वजनिक हुन थालेका हुन्। फागुन पहिलो साता पार्टीको १४औं महाधिवेशन गर्ने गरी केन्द्रीय समितिले कार्यतालिका संशोधन गरेको हप्ता दिनमै कांग्रेसमा गुटगत विवाद देखिन थालेको हो।

पार्टी संस्थापन पक्षले महाधिवेशनलाई प्रभावित पार्ने गरी आचारसंहिता विपरीत निर्णय गर्न थालेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आरोप छ। महाधिवेशनको मिति तय भएपछि सभापति शेरबहादुर देउवाले विभाग, विभिन्न समिति र विभागलाई पूर्णता दिने काम गरेको भन्दै पौडेल समूहले आपत्ति जनाएको हो। बिहीबार नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको केन्द्रीय निर्वाचन समितिलाई लिखित पत्र बुझाएको छ। विधान र निर्वाचन आचारसंहिता उल्लंघन भएकोबारे उनीहरूले समितिको ध्यानाकर्षण गराएका हुन्।

पत्रमा उल्लेख छ, ‘निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिताको विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशयबाट प्रेरित रहेको हुँदा उक्त कार्य तत्काल रोक्न र बदर गर्न गराउन निर्वाचन समितिको ध्यानाकर्षण गराउन चाहन्छौं।’

कांग्रेसको वर्तमान कार्यसमितिको चारवर्षे कार्यकाल गत फागुनमै सकिएको छ। विधानले दिएको सुविधाअनुसार ‘असाधारण परिस्थिति’मा एक वर्ष समयावधि थप गर्न मिल्ने भएकाले सो पार्टीले फागुन ७, ८, ९ र १० गतेका लागि १४औं महाधिवेशनको मिति तोकेको हो। निर्वाचन समितिलाई बुझाएको पत्रमा विभाग गठनको विषय मात्र उल्लेख गरे पनि असन्तुष्ट पक्षले अनुशासन समितिको कार्यप्रति पनि तीव्र असन्तुष्टि जनाएको छ। ‘विभाग गठन मात्रै होइन। यो त एउटा विषय मात्रै हो। त्यस्तै खालका आचारसंहिता विपरीतका काम भइरहेका छन्। त्यो गर्न पाइँदैन भन्ने हाम्रो विचार हो’, वरिष्ठ नेता पौडेलले भने, ‘महाधिवेशनलाई प्रभावित पार्ने गरी कुनै पनि काम गर्न पाइँदैन। यो तदर्थ समिति भइसक्यो।’

सभापति देउवाललाई अब कार्यकारी अधिकार प्रयोग गर्ने अधिकार विधानले नदिएको उनको भनाइ छ। यसअघि अनुशासन समितिले कांग्रेसको बेल्जियम जनसम्पर्क समिति अध्यक्ष सीता सापकोटालाई स्पष्टीकरण सोधेको थियो। नागरिकता विधेयकबारे उनले पार्टी उपसभापति विमलेन्द्र निधिविरुद्ध सामाजिक सञ्जालमा लेखेपछि स्पष्टीकरण सोधिएको थियो। सापकोटा महामन्त्री कोइराला निकट हुन्। समितिले कारबाहीका लागि सोधेपछि बुधबार पौडेल पक्षका केही नेताको अनौपचारिक बैठकले सभापति देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।

‘अनुशासन समितिको कुरा हामीले लिखित पत्रमा त उल्लेख गरेका छैनौं। तर, समितिले पनि पार्टीको विधान मान्नुपर्छ भन्ने हाम्रो भनाइ हो’, पौडेल निकट एक नेताले भने, ‘चुनावका बेला आफूसँग अर्को पक्षलाई कारबाही गर्ने र आफू अनुकूललाई राख्ने काम गर्नु भएन।’ पार्टी संस्थापन पक्षले भने निर्वाचन प्रभावित पार्न खोजेको भन्ने आरोपको खण्डन गरेको छ। समयमै महाधिवेशन सम्पन्न गर्ने गरी एकताबद्ध भएर जुट्नुपर्ने बेलामा सुरुमै देखिएको असन्तुष्टिले प्रक्रियालाई जटिल बनाउने संस्थापन पक्षको ठहर छ। ‘यो विवादको विषय नै होइन, उहाँ ९पौडेल० ले यस्तो नगर्नु भएको भए हुन्थ्यो’, कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले भने, ‘सबै मिलेर महाधिवेशनको सुनिश्चिता गर्नेतर्फ लाग्नुपर्ने बेलामा यस्तो खालको विवाद हुने गरी अगाडि बढ्नु राम्रो होइन।’

समयमै विभाग गठन गर्न देउवाले पटकपटक नाम मागे पनि पौडेल पक्षले नदिएका कारण ढिलाइ भएको उनले बताए। ‘आचारसंहिता उल्लंघन र महाधिवेशन प्रभावित पार्न खोजेको भन्ने कुरा उहाँहरूले गर्नुभएछ त्यसमा सत्यता छैन’, महतले भने, ‘सभापतिले सबैलाई समेटेर विभाग गठन गर्न खोजेकै कारण ढिलाइ भएको हो। पटक–पटक नाम दिनुस् भन्दा पनि दिनुभएन। छोटो समयकै लागि भए पनि देशभरका नेता कार्यकर्तालाई भूमिका दिनुपर्छ भन्ने सभापतिज्यूको चाहना हो।’

                                                                                                      स्रोत : अन्नपूर्ण पोस्ट्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *