Sajhamanch Archive

विश्वमा लगातार दोश्रो दिन कीर्तिमानी संख्यामा कोरोना संक्रमित फेला परे

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

विश्व स्वास्थ्य संगठनले लगातार दोश्रो दिन विश्वमा कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित फेला परेको जनाएको छ।

रोयटर्समा प्रकाशित समाचारमा बितेका २४ घण्टामा २ लाख ५९ हजार ८ सय ४८ जना संक्रमित फेला परेपछि संक्रमित संख्यामा लगातार दोश्रो दिन नयाँ कीर्तिमान कायम भएको हो। शनिबारमात्र विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना संक्रमितको दैनिक वृदधिमा नयाँ रेकर्ड कायम भएको जनाएको थियो।

शुक्रबार एकैदिन २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित फेला परेपछि विश्वको दैनिक संक्रमित संख्यामा नयाँ कीर्तिमान बनेको थियो।

यसअघि यो कीर्तिमान जुलाई १२ मा बनेको थियो। सो दिन १ लाख ३० हजार ३ सय ७० जना संक्रमित फेला परेका थिए। शनिबार थपिएका संक्रमितमध्ये अधिकाशं अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट भएको संगठनले जनाएको छ।

शनिबार कोरोनाबाट हुने मृत्यु पनि बढेको छ। शनिबार एकैदिन ७ हजार ३ सय ६० जनाको मृत्यु भएको छ। यो संख्या मार्च १० यताकै उच्च हो। कोरोनाबाट जुलाईमा प्रतिदिन औषत ४८ सय जनाको मृत्यु भएको र जुनमा त्यो संख्या प्रतिदिन ४६ सय रहेको तथ्यांक संगठनले सार्वजनिक गरेको छ।

शुक्रबारसम्म विश्वमा कोरोना संक्रमित संख्याले १ करोड ४० लाखको आँकडा पार गरेको छ भने झण्डै ६ लाख मानिसको मृत्यु भएको छ। तथ्यांक अनुसार पछिल्लो समय थपिएका १० लाख संक्रमित १ सय घण्टामा थपिएका हुन्।

विश्व स्वास्थ्य संगठनले शनिबार अमेरिकामा ७१ हजार ४ सय ८४, ब्राजिलमा ४५ हजार ४ सय दिन, भारतमा ३४ हजार ८ सय ८४ तथा दक्षिण अफ्रिकामा १३ हजार ३ सय ७३ जना संक्रमित फेला परेको आफ्नो तथ्यांक पेस गरेको छ। शुक्रबारमात्र छिमेकी राष्ट्र भारत १० लाख भन्दा बढी संक्रमित भएको विश्वको तेश्रो मुलुक बनेको थियो। यो सूचिमा अमेरिका र ब्राजिल रहेका छन्। महामारी विज्ञहरूले भारत महामारीको उच्च विन्दुमा पुग्न अझै महिनौं पर रहेको जनाएको छ।

ब्राजिलमा शुक्रबार संक्रमित संख्या २० लाख पार भएको थियो। प्रतिदिन ४० हजार बढी संक्रमित फेला परिरहेको ब्राजिलमा संक्रमित संख्या एक महिनाभन्दा कम अवधिमा दोब्बर भएको रोयटर्सको समाचारमा उल्लेख छ। कोरोना रोकथाम र नियन्त्रणमा ब्राजिलका राज्य तथा शहरहरूको पहलकदमी कमजोर रहँदै आएको छ भने संघीय सरकारको प्रयास पनि निराशाजनक छ।

यसैगरी सबैभन्दा धेरै कोरोना संक्रमित रहेको अमेरिकाले पनि कोरोना रोकथाम र नियन्त्रणमा निक्कै कम सफलता हात पारिरहेको छ। त्यहाँ हालसम्म ३७ लाख बढी संक्रमित भइसकेका छन्। ऐजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *