Sajhamanch Archive

एक प्रतिशत नेपालीको पिसिआरबाट कोरोना परीक्षण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालको कुल जनसंख्याको १ प्रतिशत व्यक्तिमा कोरोनाभाइरसको पिसिआर विधिबाट परीक्षण भएको छ। सरकारले यसअघि कुल जनसंख्याको २ प्रतिशतमा परीक्षण गर्ने जनाएको थियो।

तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ६ सय ३४ छ। जसमध्ये ३ लाख ११ हजार ८ सय २९ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ। यो भनेको कुल जनसंख्याको १.०३ प्रतिशत हो।

तीन लाख बढीको पिसिआर परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ५ सय २ छ। जसमा ४० जनाको मृत्यु भएको छ भने ११ हजार ६ सय ३७ जना निको भएका छन्। अर्थात आधाभन्दा बढी व्यक्ति निको भएर घर फर्किएका छन्।

पछिल्लो एक साताको संक्रमण दर हेर्दा पनि संक्रमण हुने भन्दा निको हुने बढी छन्। शनिबार ५७ जना मात्र संक्रमित थपिँदा १०३ जना निको भए।

सार्क सदस्य राष्ट्रहरूमा प्रति दश लाखमा पिसिआर परीक्षण गर्नेमा नेपाल माल्दिभ्स र भुटानपछि तेस्रो स्थानमा छ। नेपालले प्रति १० लाखमा १० हजार ६ सय ९९ जनाको परीक्षण गरेको छ। नेपालभन्दा पछि रहेको भारतले प्रति १० लाखमा ९ हजार ७ सय ३० जनाको परीक्षण गरेको छ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले परीक्षणलाई आवश्यकताअनुसार बढाउँदै लैजाने बताए। ‘परीक्षणलाई २ प्रतिशतमै पुर्‍याउनुपर्छ भन्ने छैन। उच्च जोखिममा रहेकाहरूको परीक्षण गर्ने हो। तर त्यो परीक्षण संख्या पुयाउन कुनै समस्या छैन। त्यसका लागि आवश्यक पूर्वाधार र सामाग्री पनि छन्,’ उनले भने।

पछिल्लो समय सरकारले समुदायस्तरमा संक्रमणको अवस्था यकिन गर्न ४५ हजार जनाको परीक्षण गरिरहेको छ जसमा उपत्यकामा ५ हजार र बाँकी प्रदेशहरूमा गर्ने भनिएको हो। जोखिमलाई नहेरी परीक्षण संख्यामात्र बढाउन हतारो गरे त्यसले आर्थिक भार मात्र पार्ने डा। अधिकारीको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *