Sajhamanch Archive

लकडाउनपछि १७९ शव ल्याइए

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by .

काठमाडौं । कोरोना महामारीपछि विभिन्‍न मुलुकमा मृत्यु भएका १७९ नेपालीका शव स्वदेश ल्याइएका छन् । कोरोना संकट व्यवस्थापन केन्द्रका अनुसार शनिबारसम्म ३० हजार ९४० जना नेपाल फर्किएका छन् ।

विदेशमा रहेका अलपत्र नेपालीहरूका स्वदेश फर्काउनका लागि १९९ वटा उडान भएका छन् । कोरोनाभन्दा बाहेकका कारणले मृत्यु भएका मानिसको धेरै शव ल्याइएको देश साउदी अरब रहेको छ ।

साउदीबाट मात्रै उद्धार उडानबाट ६३ वटा शव स्वदेश ल्याइएको छ । यस्तै कतारबाट ४६, मलेसियाबाट ४१, ओमनबाट १, कुवेतबाट ८, माल्दिभ्सबाट १ वटा शव ल्याइएको छ । यस्तै यूएईबाट ११, भारतबाट १ र बहराइनबाट ७ वटा शव स्वदेश ल्याइएको बोर्डले जनाएको छ ।

विदेशमा विभिन्‍न कारणले मृत्यु भएकाको शव वैदेशिक रोजगारी बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने व्यवस्था मिलाएको छ । यसअघि मृतकका परिवारले घरसम्म शव लैजानका लागि काठमाडौं आएर वैदेशिक रोजगारी बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था थियो ।

तर, कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा मृतकका आफन्तजन आउन सक्ने अवस्था नहुँदा बोर्ड आफैंले शव बुझेर घरसम्मै पुर्‍याउने व्यवस्था मिलाएको हो । कोरोनाकै कारण विदेशमा मृत्यु भएका नेपालीहरुलाई भने त्यही देशमा अन्त्येष्टिका लागि वैदेशिक रोजगार बोर्डले सुरु गरेको छ । जसको लागि परिवारबाट सहमति प्राप्त हुने क्रम जारी रहेको बोर्डले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *