Sajhamanch Archive

देशभर दर्के झरी, कुन–कुन प्रदेशमा छ जोखिम ?

Published: in प्रदेश तह, समाज by .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबान हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

आइतबारबाट सुरु भएको भारी वर्षाको क्रम अझै चार दिन रहने भन्दै पहाडी भूभागमा पहिरो तथा भूक्षय र तराईका क्षेत्रमा बाढी, डुबान तथा नदी कटानको सम्भावना रहेको भन्दै सबैलाई सचेत रहन विभागले आग्रह गरेको छ ।

“आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ,” विभागले भनेको छ, “यी स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।”

यसैबीच, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अब चारदिनसम्म लगातार भारी वर्षा हुने जनाएको छ । लगातारको भारी वर्षाका कारण चुरे तथा पहाडी भूभूभाग गलिसकेकाले सतर्क रहन प्राधिकरणको आग्रह छ ।

बाढी, पहिरोको उच्च सम्भावना भएकाले सर्तक रहन आग्रह गरेको प्राधिकरणले तराईका नदी तथा आसपासका क्षेत्र र सीमावर्ती क्षेत्रमा डुबानको सम्भावना भएकाले पूर्व तयारी अपनाउन आग्रह गरेको छ ।

आपतकालीन सेवाका लागि प्राधिकरणले आपतकालीन कार्यसञ्चालन केन्द्रको १४४९ र पाढी तथा पहिरोको पूर्व जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको ११५५ नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सकिने प्राधिकरणको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *