Sajhamanch Archive

समाचार पढ्दापढ्दै समाचार वाचिकाको दाँत फुस्किएपछि‘…………..

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, लोकप्रिय, विश्व समाचार by .

टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा समाचार वा कार्यक्रम प्रस्तुत गरिरहँदा कहिलेकाहीँ निकै अप्ठ्यारा तथा अनौंठा घटनाक्रमहरू आइलाग्छन् ।हालै युक्रेनमा एक महिला पत्रकारले यस्तै अकल्पनीय स्थितिको सामना गर्नुपरेको छ । टेलिभिजनमा प्रत्यक्ष प्रसारणका क्रममा समाचार वाचन गरिरहेको बेला उनको एउटा दाँत फुस्किएर हातमै झर्दासमेत सम्हालिएर समाचार पूरा गरेको दृश्यले दर्शकलाई भावुक बनाएको छ ।

समाचार पढिरहँदा उनको अगाडिपट्टि माथिल्लो भागको एउटा दाँत झरेको थियो। दाँत झरेपछि उक्त दाँतलाई उनले हातमा लिइन् ।

एक्कासी दाँत फुस्किँदा र थोते भएर समाचार पढिरहँदासमेत उनको अनुहारमा कुनै बदलाव देखिएन र उनले स्वाभाविक रूपमा समाचार रिपोर्टको वाचन पूरा गरिन् । ती साहसी समाचार वाचिकाको नाम मारिच्का पाडाल्को हो । उनले उक्त घटनाको भिडियो आफ्नै इन्स्टाग्राममा अपलोड गरेकी छन् । जहाँ उनले लेखेकी छन्, ‘यो मेरो समाचार वाचिकाको रूपमा २० वर्ष काम गर्दाको सबैभन्दा अनौंठो अनुभव हो ।’

दाँत झर्दासमेत कुनै आश्चर्य नमानी स्वाभाविक रूपमा समाचार पढिरहेको देख्दा उल्टै आफ्ना साथीहरू छक्क परेको र कतिपय साथीहरूले ‘तिमीले त दिनहुँ आफ्नो दाँत झर्छ जस्तो पो गर्‍यौ,’ भनेर जिस्काउने गरेको बताइन् । उनका अनुसार १० वर्षअघि आफ्नी छोरीले खेलाइरहेको घडी आफ्नो दाँतमा ठोक्किँदा कमजोर बनेको दाँत अहिले आएर समाचार पढिरहेको बेला झरेको हो ।

दाँत झर्दासमेत नआत्तिकन समाचार पूरा गर्ने ती समाचार वाचिकाको भिडियो सोसल मिडियामा भाइरल बनेको छ । धेरैको उनको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *