Sajhamanch Archive

क्‍वारेन्टाइन बनाइएका विद्यालय कसरी होलान् सञ्‍चालन ?

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं ।  कोरोना संक्रमण रोकथाम र उपचारका लागि सरकारले देशभरका कतिपय स्कुलहरु क्वारेन्टिनको रुपमा प्रयोग गरेको छ। अझै पनि ती स्कुल खाली हुन सकेका छैनन्। यता, सरकारले भदौ १ गतेबाट स्कुल भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यसो त क्वारेन्टिनमा रुपान्तरण गरिएको स्कुलमा अब कसरी भर्ना र परीक्षा गराउने भन्ने प्रश्नहरु उठ्न थालेका छन। क्वारेन्टिनमा प्रयोग गरिएका विद्यालय खुले पनि कतिपय विद्यार्थी त्यहाँ जान डर मान्ने गरेका छन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार देशभरका चार हजार विद्यालय अहिले क्वारेन्टिनको रुपमा प्रयोग गरिएका छन्।

‘स्कुल सञ्चालन गर्ने समयसम्म विद्यालय तयार हुन्छ’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्कुल सञ्चालन गर्ने समय सम्ममा ती क्वारेन्टिनको रुपमा प्रयोग गरिएको विद्यालय सञ्चालनको लागि तयारीमा ल्याउने जानकारी दिए।

‘कोरोना आशंका भएका व्यक्ति वा बाहिरबाट आएका व्यक्तिको कोरोना परीक्षणको लागि राख्न विद्यालय क्वारेन्टिनको रुपमा प्रयोग गरिएको हो,’प्रवक्ता शर्माले भने,‘करिब चार हजार विद्यालय क्वारेन्टिनमा छन्। संख्या तलमाथि हुन सक्छ। स्कुल सञ्चालन गर्ने समय सम्ममा क्वारेन्टिनमा प्रयोग गरिएको सबै स्कुल तयार हुन्छ।’

भर्ना प्रक्रिया थाल्ने निर्णय गरेपनि पठनपाठनको लागि केही समय लाग्ने जानकारी दिँदै त्यस समय सम्ममा स्थानीय तहको समन्वयमा विद्यालय सञ्चालनको लागि तयारीमा ल्याउने उनको भनाइ छ। उनले भने,‘अझै स्कुलमा पठनपाठन गर्नलाई समय लाग्ला। त्यो बेला सम्ममा कोरोना संक्रमण पनि घट्दै जाला। त्यस समयसम्ममा स्थानीय सरकारले स्कुल व्यवस्थापन गर्छन्।’

जुनसुकै अवस्थामा पनि क्वारेन्टिनमा प्रयोग गरिएको स्कुलका विद्यार्थी पढाइबाट वञ्चित नहुने उनले बताए। उनका अनुसार कोरोना संक्रमित नभएका ठाउँमा रहेको स्कुल स्थानीय तहले आवश्यकताअनुसार सञ्चालनमा ल्याउन सक्नेछन्। क्वारेन्टिनमा प्रयोग भइरहेको स्कुलमा पनि स्थानीय सरकारले नै सुरक्षा मापदण्ड अपनाएर पछि प्रयोगमा ल्याउनुपर्ने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *