Sajhamanch Archive

खुकुरी प्रहार गरी भृकुटीबजारका आचार्यको हत्या

Published: (Updated: ) in समाज, स्थानीय तह by .

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीबजारमा बाम्फोक (खुकुरी) प्रहार गरी आज एक ब्यक्तिको हत्या भएको छ ।

स्थानीय ५० वर्षीय नारायण आचार्यले सञ्चालन गरेको कपडा पसलमा नै आएर गर्धनमा बाम्फोक (खुकुरी) प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थावपाले जनाएका छन् । घाइते आचार्यको उपचारका लागि बिर्तामोड ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार खुकुरी प्रहार गरी फरार रहेका संदिग्ध अपराधीलाई आजै साढे ५ बजे बाहुनडाँगीबाट पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

आर्चायमाथि के कारणले खुकुरी प्रहार भयो भन्ने विषयमा अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।

आचार्य भृकुटी बजारमा पसल गर्ने पुराना सफल व्यवसायीका रुपमा चिनिन्थे । उनका श्रीमती र २ छोराहरु छन् । एक जना छोरा वैदेशिक रोजगारीका लागि कतारमा छन् भने अर्का घरैमा छन् ।

आचार्यको पसलमा विहीबार ती सन्दिग्ध युवा चप्पल किन्न आएका थिए । चप्पल किनेर घर गएका उनी भोलिपल्ट अर्थात शुक्रबार चप्पलको साटो हाफपेन्ट लैजाने भन्दै आचार्यको पसलमा दोहोर्याएर आएका थिए ।

पसलमा आचार्यसँग ती युवाले केही विवाद गरेको अनुमान छ । त्यसपछि घर गएका उनी धारिलो हतियार बोकेर लगत्तै फेरि पसल फर्किएका थिए ।

घटनापछि बाहुनडाँगी बजार हुँदै भारततिर भाग्न लागेका बेला प्रहरीले ती युवालाई पक्राउ गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *