Sajhamanch Archive

सातमहिने गर्भवतीसहित १५ जनाको उद्धार

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । युएईको आबुधाबीमा अलपत्र परेका तीन महिला र १२ जना पुरुषको उद्धार भएको छ । एजेन्टले युएईमा ल्याएर अलपत्र पारेका उनीहरुलाई ‘आबुधाबी राहत वितरण तथा उद्धार समूह’ले उद्धार गरेको हो ।

बाग्लुङ घर भएका ओमबहादुर कुँवर, लोकेन्द्र थापा, टिका तामाङ र कर्ण लोप्चनलाई उद्धार गरी नेपाल फर्काइएको छ । त्यस्तै बर्दियाका दुई जना र स्याङ्जाका एक जना पुरुषलाई पनि उद्धार गरेर नेपाल फर्काइएको छ ।

घर फर्किन विमानस्थल पुगेका स्याङ्जाका एक नेपालीमा कोरोना देखिएपछि समस्यामा परेका थिए । उनलाई सुरुमा उद्धार गरेर अलग्गै राखिएको थियो । पछि पीसीआर परीक्षण गरेर हेर्दा कोरोना नेगेटिभ रिपोर्ट आएपछि नेपाल फर्काइएको छ ।

उद्धार गरिएकामध्ये एकजना महिला सात महिनाको गर्भवती छिन् । यस्तै उद्धार समूहले धनुषाका राजकिशोर पासवानलाई पनि उद्धार गरेर नेपाल फर्काएको छ । अहिले अर्घाखाँचीका तीन जना र चितवनका एक पुरुष, एक जना गर्भवतीसहित तीन जना महिलालाई खाने–बस्ने व्यवस्था मिलाएर राखिएको उद्धार समूहका कृष्ण गौतमले बताए ।

महिलाहरुलाई कागजी प्रकृया पूरा गरेर नेपाल फर्काउन दूतावासले कानुनी सहयोग गरिरहेको छ । उनीहरुलाई नेपाल फर्काउन हवाई टिकटको व्यवस्था गर्ने प्रयास भइरहेको छ । तेस्रो देशको बाटो हुँदै अवैधानिक रुपमा अरु देश पुर्याउन युएईलाई ट्रान्जिट पारेर एजेन्टहरुले ती महिलाहरुलाई यहाँ ल्याएर अलपत्र पारेका हुन् ।

उद्धार गरिएकामध्ये एकजना महिला सात महिनाकी गर्भवती छिन् । उद्दार गरिएका दुई महिलालाई एक ठाउँमा र अर्की एक जनालाई अलग ठाउँमा राखिएको समूहका दुर्योधन कार्कीले जानकारी दिए । नेपाल फर्काइदिन गुहार माग्दै आबुधाबीमा रहेको दूतावासमा आउने अधिकांशलाई दूतावासकै अनुरोधमा खान, बस्न र नेपाल फर्काउनसमेत राहत टिमले सहयोग गर्दै आएको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *