Sajhamanch Archive

भद्रपुरमा सीसी क्यामेरा, नगरसँग बजेट ५ लाख मात्रैः २० लाख चाहिने

Published: in स्थानीय तह by .

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरको प्रमुख बजार र व्यस्त चोकहरुमा सीसी क्यामेरा जडान गरिने भएको छ ।

पछिल्लो समयमा भद्रपुरमा मोटरसाइकल लगायतका मूल्यवान बस्तु चोरीका घटना बढ्दै गएकोले सुरक्षाका लागि संवेदनशील ठाउँहरुमा सीसी क्यामेरा जडान गर्न लागिएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

यसका लागि नगरपालिकाले झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघका प्रतिनिधि, बैंक–वित्तीय संस्थाका प्रतिनिधि, स्थानीय प्रहरी–प्रशासन र उद्योगी–व्यवसायीसँग छलफल गरेको हो ।

शुक्रबार नगर प्रमुख श्रेष्ठकै अध्यक्षतामा नगरपालिकामा भएको सर्वपक्षीय भेलाले सीसी क्यामेरा जडान तथा व्यवस्थापन समिति गठन पनि गरेको छ ।

भारतसँगको सीमावर्ती मेची पूल, भद्रपुरको प्रमुख बजार क्षेत्र, झापाचोक, सगरमाथा चोकलगायतका व्यस्त तथा संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडानका लागि कार्य अघि बढाउने गरी झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिमा नगरपालिका, वडा प्रहरी कार्यालय, झापा उद्योग संघ, बैंक–वित्तीयलगायत निकाय–संस्थाका प्रतिनिधि, अग्रज उद्योगी–व्यवसायीको प्रतिनिधित्व रहेको छ ।

भद्रपुर क्षेत्रभित्र सीसी क्यामेरा जडानका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन गरिसकेको छ भने अपुग रकमका लागि सम्बन्धित वडा कार्यालय, औद्योगिक–व्यावसायिक संघ–संस्था, उद्योग–प्रतिष्ठान र लाभग्राही उद्योगी–व्यवसायीसँग सहयोग मागिने बताइएको छ ।

भद्रपुर नगरपालिकाको लगभग १२ किलोमिटर क्षेत्रभित्र उच्चकोटीको फाइबरसहित सीसी क्यामेरा जडान गर्न झण्डै २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको नगरपालिकाका आइटी अफिसर प्रदीप काफ्लेले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *