Sajhamanch Archive

विद्यालय खोल्ने गृहकार्य सुरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौँ । स्थानीय तहले आउँदो भदौदेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् । विद्यार्थीलाई मास्क अनिवार्य र सेनिटाइजर विद्यालयले व्यवस्था गर्ने गरी नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले यस्तो आन्तरिक तयारी थालेका हुन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहको परिस्थितिअनुसार विद्यालय खोल्ने तयारी गर्न विद्यालयलाई आग्रह गरिएको बताए। उनका अनुसार सबै विद्यालयलाई खोल्न आग्रह गरिएको छैन, स्थानीय तहमा कोरोना भाइरसको सङ्क्रमण नभएको, स्थानीय स्वास्थ्यकर्मी र शिक्षाविद्सँग आवश्यक परामर्श गरेर मात्र विद्यालय खोल्ने तयारी भइरहेको छ ।

सामाजिक दूरी कायम राख्ने कुरा चुनौतीपूर्ण भए पनि स्वास्थ्य सेवाका अन्य मापदण्ड पूरा गरेर भदौदेखि विद्यालय खोल्न सकिन्छ । विद्यालयमा कक्षा सञ्चालन नभए पनि सबै स्थानीय तहले विद्यालय प्रशासन यसअघिदेखि नै सञ्चालन गरी विद्यार्थीको हातहातमा पुस्तक पु¥याउने काम भइसकेको श्रेष्ठले बताए ।

नेपाल नगरपालिका सङ्घका महासचिव भीम ढुङ्गानाले स्थानीय तहका विद्यालयमा रहेका क्वारेन्टाइन क्रमशः खाली हुँदै गएकाले परिस्थितिअनुसार विद्यालय खोल्ने आन्तरिक तयारी भएको बताए । उनका अनुसार क्वारेन्टाइनका रूपमा राखिएका विद्यालयको कक्षाकोठा निर्मलीकरण गर्ने काम भइरहेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले नेपालका ४३ प्रतिशत विद्यालयमा सय जनाभन्दा कम विद्यार्थी भएकाले विद्यालय खोल्दा खासै भीडभाड नहुने बताए । उनका अनुसार कम विद्यार्थी भए पनि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन भने नियमित सावधानी अपनाउनुपर्ने हुन्छ । यसका लागि कार्यविधि समेत बनाउने तयारी भइरहेको छ ।

स्रोत : गोरखापत्र दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *