Sajhamanch Archive

हाम्रो नेपाल साकोसको आठौं वार्षिकोत्सव, दमक र केरखामा सदस्य सेवाकेन्द्र सञ्चालन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, सहकारी by .

बिर्तामोड । यहाँस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिकोत्सव आन्तरिकरुपमा आज मनाइएको छ ।

संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक भगिरथ आले ‘मामा’ लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णराज कटुवाल लगायतले मन्तब्य राखेका थिए ।

२०६९ साल साउन १४ गते स्थापना भएको हाम्रो नेपाल साकोसका आजदेखि थप दुईवटा गरी १५ वटा सेवा केन्द्र सञ्चालनमा आएको संस्थाका अध्यक्ष दंगालले जानकारी दिए । दमक र केरखामा आजदेखि दुईवटा सेवा केन्द्र थपिएका हुन् । चालू आर्थिक वर्षमा कचनकवल, झापा र गौरीगञ्ज गाउँपालिकामा कम्तीमा एक–एकवटा सेवा केन्द्र थप गर्ने कार्ययोजना बनाइएको अध्यक्ष दंगालले जनाएका छन् ।

संस्थाले गत आर्थिक वर्षमा गौरादहको विकल्प उपभोक्ता सहकारी संस्था र दमकस्थित कान्तिपुर साकोससँग एकीकरण गरेपछि असार मसान्तमा १० हजार ४०० जना शेयर सदस्य पुगेको जनाइएको छ । चालू आर्थिक वर्षमा यो संख्या १९ हजार बनाउने लक्ष्य राखिएको अध्यक्ष दंगालले जानकारी दिएका छन् । गत असार मसान्तमा संस्थाको शेयर पुँजी सात करोड ४७ लाख ९९ हजार ५०० रुपैयाँ रहेको छ ।

सो साकोसमा गत असार मसान्तसम्म ४९ करोड ४३ लाख निक्षेप मौज्दात रहेकोमा चालू वर्ष ९० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ । यस्तै संस्थाले ६७ करोड ऋण लगानी गरेकोमा चालू वर्ष १०० करोड बनाउने लक्ष्य लिइएको अध्यक्ष दंगालले साझामञ्चलाई बताए ।

त्यस्तै संस्थाको आम्दानी नौ करोड ४९ लाख २८ हजार ६३३ रुपैयाँ, खर्च आठ करोड ९३ लाख २७ हजार ३९ रुपैयाँ भई संस्थाले ५६ लाख एक हजार ५९३ रुपैयाँ खुद नाफा गरेको उनले जानकारी दिए । त्यसैगरी गत आर्थिक वर्षमा संस्थाको कूल कारोबार (वासलात) ९५ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँ रहेको छ भने चालू वर्षमा एक अर्ब ५० करोडको बनाउने अध्यक्ष दंगालले जानकारी दिए । हाम्रो नेपाल साकोसको कोषमा सात करोड रुपैयाँ भन्दा बढी रहेको बताइएको छ ।

संस्थाले लकडाउन अवधि २०७६ चैतदेखि २०७७ असार मसान्तसम्मको चार महिनामा दुई हजार ३३२ जना ऋणी सदस्यहरुको पाकेको ऋणको ब्याजमा १० प्रतिशतले हुन आउने २९ लाख ३७ हजार ९२८ रुपैयाँ व्याज मिनाह गरेको उनले बताए । सो अवधिमा हर्जाना जरिवाना मिनाहा गर्नुका साथै ऋणी सदस्यहरुलाई स्वेच्छिक किस्ता तिर्ने व्यवस्था र शून्य प्रतिशत व्याजमा कर्जाको व्यवस्था मिलाइएको अध्यक्ष दंगालले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणवाट बच्न तीन हजार शेयर सदस्य र संस्थाका कर्मचारी, सञ्चालक समितिका पदाधिकारी, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी गरी १५० जनाको कोरोना बीमा गरिएको थियो ।

यस्तै सदस्यहरुलाई स्वास्थ्य सचेतना सञ्चालन, बिर्तामोडका २१२ जना शेयर सदस्यलाई एक लाख ९० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण, बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा एक लाख एक हजार रुपैयाँ प्रदान गरिएको थियो ।

यस्तै, अर्जुनधारा, कनकाई, भद्रपुर, मेचीनगर, शिवसताक्षी, गौरादह नगरपालिका, हल्दीबरी, बाह्रदशी गाउँपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा ५१–५१ हजार रुपैयाँ प्रदान गरिएको थियो । संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ५१ हजार रुपैयाँ प्रदान गरेको समेतगरी छ लाख ११ हजार रुपैयाँ प्रदान गरेको जनाइएको छ ।

संस्थाले एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गरिएको पीसीआर प्रयोगशालाका लागि झापा जिल्ला सहकारी संघलाई एक लाख एक हजार रुपैयाँ प्रदान गरेको थियो । ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *