Sajhamanch Archive

पर्यटकको प्रतिक्षामा निचाझोडा सिमसार

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by .

मेचीनगर । प्रकृतिबाट अदभूत तरङ्ग यत्रतत्र, सर्वत्र फैलिरहेको छ । जसको अलिकति मात्र पनि स्पर्शले मनमा शान्ति र आनन्दको आभाष दिलाउँछ । झापाको मेचीनगर नगरपालिका वडा नं.१३ र १४ मा पर्ने निचाझोडा सिमसार क्षेत्रलाई पूर्वको फेवातालको रुपमा विकास गर्ने उद्देश्यले यतिबेला निर्माण कार्य भइरहेको छ ।

राजवंशी भाषामा ‘निचा’ को अर्थ झिँगेमाछा र ‘झोडा’को अर्थ खोल्सी रहेकाले सिमसारको नाम निचाझोडा रहन गएको स्थानीय बताउँछन् ।

हातेमालो सामुदायिक वनको कूल ३८९ हेक्टरमध्ये १२ हेक्टर क्षेत्रफल सिमसारले ओगटेको छ । वि.सं.२०७२ सालदेखि औपचारिक रुपमा निचाझोडा सिमसार सञ्चालनमा ल्याइए तापनि डिपीआर तयारी गरी निर्माण कार्य भने वि.सं.२०७४ सालबाट सुरु गरिएको मेचीनगर नगरपालिका वडा नं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताएका छन् ।

पूर्व–पश्चिम राजमार्गको चारआली सडकखण्डको करिब तीन किलोमिटर दक्षिण भागमा अवस्थित सिमसारलाई १० वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गुरुयोजना भए पनि विविध समस्याका कारण १६ वर्षभित्र आकर्षक सिमसार तयार हुने सामुदायिक वनका अध्यक्ष प्रेमप्रसाद पौडेलले बताए ।

निर्वाचन क्षेत्र विकास कोषबाट १५ लाख रूपैयाँ, हातोमालो सामुदायिक वनबाट पहिले चरणमा ६ लाख रूपैयाँ, दोश्रो चरणमा मेचीनगर नगरपालिका वडा नंं १३ र वनको तर्फबाट ११ लाख र तेश्रो चरणमा सोही वन र मेचीनगर १३ को तर्फबाट १५/१५ लाख रुपैयाँ गरी हालसम्म कूल ६२ लाख रूपैयाँको लागतमा निर्माण कार्य अघि बढिरहेको हो । सिमसार निर्माण सम्पन्न गर्न करिब ७ करोड खर्च हुने अनुमान गरिकोमा हालसम्म ५५ लाख रूपैयाँ खर्च भएको वन समूहका अध्यक्ष पौडेल बताउँछन् ।

विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका कारणले निर्माण कार्य रोकिए तापनि आगामी असोज महिनाबाट निर्माण कार्यलाई तिव्रता दिइने अध्यक्ष पौडेलले बताए । उक्त वनमा मेचीनगर नगरपालिका वडा नं. १३ र १४ का गरी करिब तीन हजार ५०० भन्दा बढी उपभोक्ता सिमसार सञ्चालन पछि प्रत्यक्ष रुपमा लाभान्वित हुने बताइएको छ ।

सिमसारको गुरुयोजना अनुसार आधुनिक उपकरणको प्रयोग गरी ढुङ्गाको हिमाल, माटोको पहाड र समतल तराईको झल्को दिने पर्यटकीय स्थल बनाई सोही ठाउँमा माछा पोखरी, विविध प्रकारका जडीबुटी, कछुवा संरक्षण केन्द्र, ध्यान केन्द्र सञ्चालन गर्ने गुरूयोजना बनाइएको छ । सिमसार क्षेत्रमा सर्प संरक्षण केन्द्र वृहत किसिमको पोखरी निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई मोहित पार्न दुईवटा नमूना टापु बनाइने वडाध्यक्ष सिग्देलले बताए ।

त्यस्तै, बालबालिकाहरुका निम्ति छुटै बाल उद्यान निर्माण गरिने, झोलुङ्गे पूल निर्माण गरिने, अत्याधुनिक किसिमको डुङ्गा सञ्चालन गरिने, धार्मिक स्पट, पैदल मार्ग निर्माण गर्नुका साथै आकर्षक किसिमको ३०० वटा पिकनिक स्थल र करिब एक करोड बराबरको वार्षिक आम्दानी हुने माछा पोखरी निर्माण गरिनेजस्ता योजना बनाइएको वडाध्यक्ष सिग्देलले बताए ।

सिमसार क्षेत्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सके करिब ३०० जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाउनुका साथै आर्थिक उन्नति हुने अवस्था रहेको वडाध्यक्ष सिग्देल बताउँछन् ।

पर्यटकीय दृष्टिले नेपालका भूभागहरु उच्च स्तरमा पर्ने गरेका छन् । यस्ता किसिमका सिमसारहरु निर्माण हुनुले रोजगारीसमेत थपिने र पर्यटकको आगमन पर्यटन व्यवसाय पनि फस्टाउँदै जाने हुनाले यस्ता प्रयासहरु साँच्चै नै प्रसंशनीय हुनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *