Sajhamanch Archive

अमेरिकी राजदूतले खौरिए विवादित जुँगा

Published: in रोचक कुरा / टिप्स, विविधा, विश्व समाचार by .

दक्षिण कोरियास्थित अमेरिकी राजदूत ह्यारी ह्यारिसको जुँगा पछिल्ला दिनमा निकै चर्चित र विवादित बन्यो । सायद दुनियाँकै सबैभन्दा विवादास्पद भनिने उक्त जुँगामा अन्ततः ब्लेड चलेको छ । अर्थात् अमेरिकी राजदूतले आफ्नो विवादित जुँगा खौरिएका छन् ।

आफ्नो जुँगा असाधारण आलोचनामा परेसँगै राजदूत ह्यारिस सियोलस्थित एक परम्परागत नाउँ पसलमा गएर आफ्नो जुँगा कटाएका छन् । जापानी आमाका छोरा रहेको राजदूत ह्यारिसले पालेको जुँगाका कारण अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्धमा नै तनाव आउने अवस्था सिर्जना भएपछि उनले जुँगा खौरिएका हुन् ।

सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्विपमा कब्जा जमाएको जापानप्रति कोरियाली जनता अझैसम्म पनि नकारात्मक धारणा राख्दछन् । उक्त औपनिवेशिक कालका जापानी गर्भनर जनरलले पाल्ने खालको जुँगा जापानी आमाका छोरा अमेरिकी राजदूतले पालेपछि कोरियनहरुले तीव्ररुपमा आलोचना गर्दै आएका थिए।

तर राजदूत ह्यारिसले चाहीँ गत जनवरीमै आफ्नो जुँगा पाल्ने शौख व्यक्तिगत मामिला रहेको भन्दै आलोचकहरु इतिहासको गलत व्याख्या गर्नेहरु भएको दाबी गरेका थिए। तर हालैको सप्ताहन्तमा उनले परम्परागत कोरियन नाइँ पसलमा गएर जुँगा खौरिएको भिडियो सोसल मिडियामा अपलोड गरे ।

कोरोना महामारीका चलिरहेको बेला सिओलको गर्मी याममा मास्क लगाउँदा शितल होस् भनेर जुँगा खौरिएको उनले बताएका छन् । उनले ट्विट गर्दै जुँगा खौरिँदा आफु खुसी भएको लेखेका छन् ।

दक्षिण कोरिया र जापान दुवै देश अमेरिकाकी गठबन्धनका मुलुक भए पनि विभिन्न ऐतिहासिका घटनाक्रमका विषयमा यी दुईदेशबीच तिक्ततापूर्ण विवाद हुने गर्दछ ।

यो वर्षको सुरुवातमा ह्यारिसले सार्वजनिक रुपमा भनेका थिए, ‘कोरिया र जापानबीचको ऐतिहासिक विवादका विषयमा म जानकार छु । तर म जापानी अमेरिकी राजदूत होइन । म कोरियाका लागि अमेरिकी राजदूत हुँ ।’ आफू जापानी आमाबाट जन्मिएकै कारण दुई देशको ऐतिहासिक विवादको मामिला आफूमाथि थोपर्नु सही नभएको उनको भनाइ थियो ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *