Sajhamanch Archive

त्रिभुवन विमानस्थलबाट साढे ५५ हजार जनाको आवत–जावत,

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । गएको चैत ११ गतेयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५५ हजार जना यात्रुले आवत जावत गरेका छन् । विमानस्थल कार्यालयका अनुसार चैत ११ गतेदेखि लकडाउन भए पनि नेपालमा अड्किएका विदेशीको उद्धार र विदेशमा रहेका नेपालीको उद्धार गरेर नेपाल ल्याउने काम चलिरहँदा विमानस्थल व्यस्त रहेको महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

लकडाउनपछिका सुरुवाती दिनमा नेपालमा समस्यामा परेका नागरिकलाई विभिन्न देशले विदेश फर्काएका थिए, उद्धार उडानमा केही नेपाली पनि विदेश गए । चैत ११ गतेदेखि साउन १७ गतेसम्म १७ हजार चार सय ८२ जना वयस्क र दुई सय ९६ बालबालिका नेपालबाट विदेश गएका छन् ।

यस्तै लकडाउनपछि पहिलो पटक जेठ २३ गतेदेखि सरकारले विदेशमा समस्यामा रहेका नेपालीको पनि उद्धार सुरु गरेको थियो । त्यसयता ३७ हजार पाँच सय ६४ जना वयस्क र ६९ बालबालिका नेपाली स्वदेश फर्किएका छन् ।

समग्रमा चैत ११ गतेयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ हजार चार सय ११ जना व्यक्तिले आउजाउ गरेका छन् । यसको लागि पाँच सय ३५ वटा उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

कोरोना भाइरसको महामारीबाट बच्न अपनाइएका रोकथाम र नियन्त्रणका क्रियाकलापका कारण विमानस्थलले पूर्ण क्षमतामा उडान तथा अवतरण गराउन नसकेको र दैनिक १० वटा अन्तर्राष्ट्रिय उडानको लागि विमानस्थलले पूर्ण मापदण्डसहितको सेवा सजिलै उपलब्ध गराइरहेको पनि उनले जानकारी दिए ।

स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *