बिर्तामोडमा आज रातिदेखि पुनः लकडाउन
Published: (Updated: )
by .बिर्तामोड । पूर्वको ब्यस्त र मुख्य बजारस्थल बिर्तामोडमा आज राति १२ बजेदेखि पुनः अनिश्चितकालीन लकडाउन गर्ने निर्णय भएको छ ।
नगर कार्यपालिकाले स्थानीय राजनीतिक दलका नेतृत्वसहित संघीय सांसद एवम् प्रदेश सांसदको उपस्थितिमा आज गरेको छलफल पछि कोभिडको संक्रमण समुदायमा फैलन नदिन लकडाउन गर्ने निर्णय भएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताएका छन् ।
भोलिदेखि औषधी पसल र दूध डेरी बाहेक खाद्यान्नका पसलहरु बिहान ८ देखि ११ बजेसम्ममात्र खोल्न पाउने गरी निर्णय भएको छ । खाद्यान्न बाहेकका अन्य पसलहरु पूर्णतया बन्द गर्नुपर्ने निर्णय भएको नगरप्रमुख शिवाकोटीले बताए ।
राजनीतिक दल, जनप्रतिनिधि, उद्योगी–व्यवसायी, प्रहरी, सामाजिक क्षेत्रका अगुवाहरु सम्मिलित बैठकमा नेकपा नेता नरेश खरेलले कोरोनासँग अब अभ्यस्त हुनुपर्ने बताएका छन् । उनले स्थानीय सरकारले लकडाउनको अवधिमा संम्भावितहरुको पहिचान गरी पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने सुझाव दिएका छन् ।
छलफलमा प्रतिनिधि सभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले क्वारेन्टिनको सञ्चालन र व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने, पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने सुझाव दिइन् । केन्द्र भागमा रहेको नगर क्षेत्र बिर्तामोड पूर्वको मुख्य बजार रहेकोले छोटो अवधि बन्दाबन्दी गरेपनि आम उपभोक्तालाई खाद्यान्नको सहज आपूर्ति हुने व्यवस्था रहनु पर्ने उनको भनाई थियो ।
सो कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्कीले जिल्लाको मध्यभागमा रहेको बिर्तामोड नगर लकडाउन गर्नुपर्दा अन्य स्थानीय तहबाट अर्कै जिल्ला वा स्थनीय तहमा जाने यात्रु तथा यातायातको साधनलाई रोक्न सम्भव नहुने सुझाव दिए ।
सिबैको सल्लाह र सुझाव पछि नगरप्रमुख शिवाकोटीले १० दिन अघिमात्र सेफ जोन भनी घोषणा गरिएको बिर्तामोडमा हिजोदेखि असुरक्षित महसुस गरेकाले संक्रमित ट्रेसआउट गर्न लकडाउन नै विकल्प भएको निश्कर्ष सुनाएका हुन् ।
जसअनुसार आज राति १२ बजेदेखि अर्को सूचना नभएसम्म लकडाउन गर्ने, मोटर साइकलसहित निजी तथा सार्वजनिक सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । निजी, अर्ध सरकारी तथा सरकारी कार्यालयहरुमा काम गर्ने कर्मचारीहरुले परिचयपत्र धारण गरी आवतजावत गर्न पाइने जनाइएको छ ।
(थप जानकारी संलग्न भिडियोमा)
https://www.facebook.com/watch/?v=329917891519293
Comments