शिक्षक युनियनले गाउँपालिकामा ज्ञापन पत्र बुझायो
Published: (Updated: )
by .भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कचनकवल गाउँपालिका समितिले चार महिनायता तलवविहिन हुँदा विहान बेलुका छाक टार्न समस्या भएको भन्दै ज्यान बचाउन माग राखेर गाउँ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
बन्दाबन्दी सुरू भएयता कार्यरत विद्यालयले पारिश्रमिक नदिएपछि बाँच्न धौधौ परेको भन्दै ज्यान बचाउन माग राखेर गाउँ सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
इस्टु गाउँ समितिका अध्यक्ष घनश्याम अर्यालको नेतृत्वमा गाउँ शिक्षा समिति तथा शिक्षा शाखामा ३ बुँदे माग समेटेर ज्ञापनपत्र बुझाइएको छ ।
युनियनका प्रदेश १ सहसचिव राजु वराल तथा गाउँ समितिका अध्यक्ष घनश्याम अर्यालले शिक्षा समितिका संयोजक तथा गाउँपालिकाका अध्यक्ष अञ्जार आलम तथा शिक्षा शाखा प्रमुख छवि बस्नेतलाई अविलम्ब तलव निकासाको वातावरण बनाइदिन, सामाजिक सुरक्षा योजना अनिवार्य लागु गर्न र शिक्षक कर्मचारीलाई नियुक्ति पत्र दिएर काममा लगाउने वातावरण निर्माण गर्न माग राखी ज्ञापनपत्र बुझाएका हुन् ।
अध्यक्ष घनश्याम अर्याल तथा सचिव इन्द्रकला राइद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा भनिएको छ—“कचनकवल गाउापालिका क्षेत्रमा सञ्चालनमा रहेका अधिकाम्स संस्थागत विद्यालयले शैक्षिक वर्ष २०७६ सालको दिनु पर्ने पारिश्रमिक दिएको अवस्था छैन । वर्षभरी काम गरेका शिक्षक कर्मचारीलाई संरक्षण गर्नु पर्ने दायित्व भएका विद्यालय सञ्चालकहरूले काम गरेको समयको पारिश्रमिक समेत रोकेर बाहना बाजी गरिरहेको अवस्था छ । संस्थागत विद्यालयमा काम गरेर जीविका चलाइरहेका शिक्षक तथा कर्मचारीहरूले वर्षभरी विद्यालयको उन्नति प्रगतिका लागि परिश्रम गर्ने शिक्षक कर्मचारीलाई बन्दाबन्दीको बाहना देखाएर दिनु पर्ने पारिश्रमिक नदिएपछि बन्दाबन्दीको चार महिनायता तलवविहिन हुन पुग्दा हातमुख जोर्न समस्या भएको अवगत गराउँदछौं । अब भोकले शिक्षक कर्मचारी तथा आश्रित परिवार मर्ने अवस्था आएकोले गाउँपालिकाले राहत दिएर भएपनि ज्यान बाचाइदिन आग्रह गर्दछौं ।”
ज्ञापनपत्र बुझ्दै शिक्षा शाखा प्रमुख — छवि बस्नेतले सरकारी नीति नियम अनुसार विद्यालय सञ्चालक चल्नु पर्ने भन्दै शिक्षक कर्मचारी भोकै रहन नदिने बचन दिएका छन् ।
यस्तै गाउँपालिका अध्यक्ष अञ्जार आलमले संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले विद्यालय शिक्षामा पुर्याएको योगदान अविस्मरणीय रहेको भन्दै गाउँ सरकारले भोकमरीबाट बचाउन जीवन रक्षाका लागि जस्तासुकै कदम चाल्न पनि पछि नपर्ने बताए । अध्यक्ष आलमले हिजो नाफा कमाउँदा बढी भयो भनेर शिक्षक कर्मचारीलाई अतिरिक्त आम्दानी नदिने विद्यालय सञ्चालकहरूले आज बन्दाबन्दीले घाटा भयो भन्दै पन्सन नपाउने प्रष्ट पारे ।
ज्ञापन पत्र दिन उपस्थित भएका सयौं शिक्षक कर्मचारीले विभिन्न प्ले कार्ड सहित बनियानी बजार परिक्रमा गरेका थिए । उनीहरुले रोगले होइन भोकले मरिने चिन्ता व्यक्त गर्दै अब्बल शिक्षा प्रदान गर्ने शिक्षक कर्मचारी बचाउन गाउँ सरकार पहिलो जिम्मेवार निकाय हुनु पर्ने माग गर्दै नारावाजी समेत गरेका थिए ।
Comments