Sajhamanch Archive

बोर्डको बैठकलगत्तै एसईईको नतिजा सार्वजनिक गर्छौं : परीक्षा नियन्त्रक खकुरेल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय (पनिका), सानो ठिमीले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा र प्रमाणपत्र चाँडै सार्वजनिक गर्दै छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्नेबित्तिकै नतिजा सार्वजनिक गरिने जानकारी दिए । उनका अनुसार परीक्षा नियन्त्रण कार्यालयको तयारी अन्तिम अवस्थामा पुगिसकेको र बोर्ड बैठकको लागि मात्र कुरिरहेको छ । भन्छन्, “अध्यक्षले बोर्डको बैठक डाक्नेबित्तिकै एक-दुई दिनभित्र नतिजा सार्वजनिक हुन्छ ।”कोभिड १९ को कारणले यस वर्षको एसईई परीक्षा सम्पूर्ण तयारीको बावजुद स्थगित भएको थियो । शिक्षा मन्त्रालयले चैत ६ गतेबाट सुरु गर्न लागेको परीक्षा चैत ५ गते अघिल्लो दिन कोरोना भाइरसको त्रास देखाउँदै स्थगित गरेको थियो । मुलुकभर कोरोना संक्रमण बढ्दै गएपछि जेठ २८ मा बसेको अर्को बैठकबाट परीक्षा रद्द गरी आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गर्‍यो ।

यो वर्ष एसईईमा चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी छन् । परीक्षा रद्द भएकाले विद्यालयले पठाएको अन्तिम मूल्यांकनबाटै नतिजा प्रकाशित गरिनेछ । एसईईमा पनिकाले प्रश्न बनाउने, उत्तर जान्ने, परीक्षा गराउने र नतिजा प्रकाशित गर्दै आएकामा यसपटक ती सम्पूर्ण अधिकार विद्यालयले पाएको थियो ।

विद्यालयले शिक्षा विकास समन्वय एकाइलाई अन्तिम मूल्यांकन पठाएको र एकाइले परीक्षा नियन्त्रण कार्यालयलाई अन्तिम मूल्यांकन बुझाएको थियो । अब बोर्डको बैठकबाट सो मूल्यांकनलाई प्रमाणीकरण गरी नतिजा सार्वजनिक गर्न लागेको हो ।

विद्यालयले पठाएको अन्तिम मूल्यांकनकै आधारमा प्रमाणपत्र पाइने भएकाले यसपटकको नतिजालाई शंकास्पद तरिकाले हेरिएको छ । तर नियन्त्रक खकुरेलका अनुसार एसईईको सम्पूर्ण अधिकार विद्यालयले पाएको र पनिकाले नतिजा मात्र प्रमाणीकरण गरिदिने हुँदा धाँधली भए/नभएबारे केही बताउन नसक्ने बताउँछन् ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *