Sajhamanch Archive

नियुक्तिमा सरकारले नै भ्रष्टाचार गर्यो : अनेरास्ववियु

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले सरकारले संवैधानिक लगायत विभिन्न संस्थानमा गरेका नियुक्तिमा भ्रष्टाचार भएको ठहर गरेको छ ।

अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले मंगलबार तीन बुँदे विज्ञप्ति जारी गर्दै सरकार खर्च कटौतिका नाममा एकातिर लोकसेवा आयोगका विज्ञापन रोक्ने अर्कोतिर आफ्ना आसेपासेहरुलाई सरकारी सम्पत्तिले पाल्ने गरी विभिन्न संस्थान र निकायमा करारमा हुल्ने काम गरिरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘पछिल्ला दिनमा सरकारले विभिन्न निकायमा गरेको नियुक्तिका बारेमा जनस्तरबाट असन्तुष्टि आइरहेको छ । यस्तोबेला संवैधानिक अंग र प्रक्रिया छलेर थोकमा हुल्ने यस्तो कार्य भ्रष्टाचार नै भएको ठहर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ सुशासन र विधिको शासनको उपहास हुने त्यस्ता कुनैपनि त्यस्ता काम नगर्न र जनताको रोजगारीको संवैधानिक हक संरक्षण गर्नेगरी लोकसेवा आयोगलाई नै विज्ञापन गर्न दिन हामी सरकारलाई सचेत गराउँदछौ ।’

अनेरास्ववियुले पीसीआर परीक्षणको दायरा बढाउन तथा जोखिमकाबीच विद्यालय खोल्ने काम नगर्न पनि सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *