साइकलको चेन खुस्कँदा
Published: (Updated: )
by .२०५६ बैशाखमा एम.ए.को थेसिस बुझाएपछि क्याम्पस पढाउने रहर लाग्यो । सरकारी क्याम्पसले पत्याउँदैन कि भनेर जनकपुर क्याम्पसमा गई परिचित प्राध्यापकहरुसँग कुरा राखेँ। त्यहाँ स्नातक तहमा शिक्षा सङ्काय र प्रमाणपत्र तहमा कानुन तथा मानविकी सङ्काय समेत थियो। त्यो क्याम्पसका सहायक प्रमुख ईश्वर उपाध्याय रा.रा. ब.क्याम्पस नेपाली विषयका विभागाध्यक्ष हुनु हुँदो रहेछ।उहाँले सहानुभूति राख्दै तपाईं स्कुल शिक्षक हुनु हुँदो रहेछ। रारा क्याम्पसमा दिवा सत्रमा बी.ए. पढाउन समय मिल्दैन नत्र घन्टी सजिलै पाइन्थ्यो, तापनि रारा क्याम्पसमा नै धेरै घन्टी भएकाले रहर पूरा हुन सक्छ भन्ने आश्वासन दिनु भयो।तर ट्रान्स्क्रिप्ट अनिवार्य चाहिन्छ भन्नु भयो ।
थेसिस बुझाएर मूल्याङ्कन गर्न बाँकी थियो।मैले शोध निर्देशक स्नातकोत्तर क्याम्पस विराटनगरका गुरु भरत गैरेलाई फोन गरेँ ।उहाँले ३ दिनभित्रै मूल्याङ्कन गराई ट्रान्सक्रिप्टका लागि पत्र बनाउने प्रबन्ध गरि दिनु भयो।
बल्ल बल्ल जेठ अन्तिममा प्रमाणपत्र हात लाग्यो । ठूलो शिक्षक बन्ने लालसाले तुरुन्तै क्याम्पस आई चारित्रिक प्रमाणपत्र बनाएर लगेँ।ईश्वर सरले क्याम्पस प्रमुखसँग कुरा गर्न भन्नु भयो। फिजिक्सका विद्वान् डा. रामस्वार्थ यादव क्यााम्पस प्रमुख हुनुहुन्थ्यो । उहाँकै घरमा नेपालीका प्राध्यापक तथा प्राध्यापक संघका सभापति तीर्थ थापा सरको डेरा थियो उहाँसँग मेरो चिनजाान थियो ,उहाँले केही महिना मलाई पढाउनु पनि भएको थियो ।शनिबार बिहान कदम चौक स्थित डेरामा गई गुरु तीर्थ थापासँग कुरा गरेँ ।उहाँले माथिल्लो तलामा लगेर क्याम्पस प्रमुखसँग चिनारी गराउँदै मेरो कुरा राखि दिनु भयो। चिफ सरले धेरै जनाले नेपाली विषय पढाउने चाहना राखेको हुँदा विज्ञापन गर्न लागेको सूचना दिनु भयो। बिचमा चिफ सर र विभागाध्यक्षले चाहेका एक -एक जना मानिसलाई आंशिक शिक्षकमा नियुक्ति दिने अभ्यास आपसी असहमतिले स्थगित भएपछि भदौ दोस्रो सातामा विज्ञापन खुल्यो।आश्विन ४ गते कक्षा अवलोकन र अन्तरवार्ता भयो।नेपाली र अंग्रेजी विभागका प्राध्यापकहरुको उपस्थितिमा नमुना कक्षा र अन्तरक्रियात्मक अन्तरवार्ता भयो।
त्यहाँ सहभागीमध्ये दुई जनालाई बिहान र दुई जनालाई दिउँसोको कक्षा दिने गरी २०५६ आश्विन १० गते नियुक्ति पाउँदा म निकै खुसी भएँ नरायण चालिसे ,नर्मदा मैनाली र सत्यनारायण गडेरी पनि ठूलो क्याम्पसको सानो शिक्षक बन्दा म जत्तिकै खुसी हुनु हुन्थ्यो । हामी ४ मध्ये सत्य नारायण गडेरीको २०७१ मा भएको बीभत्स हत्याको घटना म कहिल्यै बिर्सन सक्तिन।
घन्टीको समय अलिक प्रतिकूल भएपनि मलाई दैनिक दुई घन्टी दिएर बनेको घन्टी जसरी पनि गर्ने चाहना थियो। ७ :५० मा सुरु भई ९ :१० मा दुई घन्टी सकेर स्कुल पुग्न निकै कठिनाइ हुन्थ्यो। मैले स्कुलका प्रधानाध्यापकलाई ७ महिनाका लागि पहिलो घन्टी खाली राखेर आधा घन्टा ढिलो आउने गरी समय मिलाइ दिन अनुरोध गरेँ । प्रशासनिक असहजताले होला उहाँले १०,१५मिनेट ढिलो आउने गरी मात्र छुट दिन सकिन्छ भन्नु भयो । त्यही क्याम्पसका अंग्रेजी विषयका प्राध्यापक बाबुसाहेब यादव मेरो स्कुल भएको गाउँका स्थानीय हुनुहुन्थ्यो ।उहाँले क्याम्पसमै मेरो समस्या थाहा पाउनु भएछ।त्यो गाउँको प्रभावशाली वर्चश्वशाली र बौध्दिक व्यक्ति भएर पनि मलाई उहाँले सुरुदेखि नै धेरै माया गरेको अनुभूति गरेको थिएँ।मैले सहयोग नमागिकन स्कुलमै आएर सबै शिक्षका सामु एक शैक्षिक सत्रका लागि मलाई दोस्रो घन्टीमा स्कुल आइपुगे हुने गरी उहाँले सहजीकरण गरि दिएपछि १ घन्टीको रु ६० बाट मैले क्याम्पस पढाउन थालेँ।
बिहान आइ.कम.मात्र पढाइ हुन्थ्यो सेक्सन बी र इ मा मेरो घन्टी थियो। एउटा घन्टीमा सारै भिड हुन्थ्यो । उदयपुर ओखलढुङ्गादेखि सर्लाहीसम्मका पढ्न चाहने र नचाहने दुवै प्रकृतिका विद्यार्थी थिए।जुँगामुठेदेखि अोठ निचोर्दा दूध आउनेजस्ता देखिने विद्यार्थीहरुलाई समेट्नै गाह्रो। चार वर्ष माध्यमिक तहमा कक्षा लिएको अनुभवले पनि अप्ठेरो पार्यो । म विद्यार्थीलाई तपाईं भन्थेँ त्यसैले मात्तिएका हुन् कि जस्तो लाग्यो।
त्यो कक्षामा दुईवटा ढोका थिए । प्राय अगाडिकको बेन्चमा बस्न पनि अर्कोतिरको ढोकाबाट नै प्रवेश गर्थे । त्यो कक्षामा भिड हुनुको कारण चाहिँ छात्राको संख्या रहेछ। त्यहाँ अलिक धेरै , वाचाल र राम्रा छात्रा थिए। छात्राहरु पछाडि बस्ने भएकाले उरन्ठेउलाहरु पछाडिको ढोकाबाट छिरेर अल्छी गर्दै अगाडिको बेन्चमा आउनुको कारण बिस्तारै बुझ्न थालेँ ।त्यतिबेला लिखुरे थिएँ । त्यसैले हो कि विद्यार्थीहरु कक्षामा हल्ला गर्थे।सम्झाउँदा टेरेनन् ,एक दुई पटक अलिक चर्को स्वरमा सम्झाउँदा पनि कक्षा नियन्त्रण भएन।केही केटी र केटाले कक्षा अव्यवस्थित बनाएको बुझेपछि कडा गाली गर्नुको विकल्प थिएन।
आक्रोश थाम्न नसकेर मैले यो क्याम्पस हो , केटाकेटीको भेट गर्ने स्थान होइन त्यसका लागि फिलिम हल र आँप गाछीतिर गए हुन्छ अनि पढ्न मन नभए बाहिर जाओ भनेपछि ‘पतरकाले कडा डाइलग दियो जाऊँ।’ भन्दै एउटा जुँगामुठे विद्यार्थी बाहिरियो ।सँगै अरु ८,१० जना केटाकेटी पनि कोही अँध्यारो र कोही रातो मुख पार्दै बाहिरिए।कक्षा शान्त भयो पढ्न चाहने विद्यार्थी खुसी भए। गाली त गरियो केटाले ठोक्ने हुन् कि भनेर डर लाग्यो बाहिरको फुलबारीमा केटाहरुक जमघट भयो । घन्टी बज्यो ।अर्को कक्षामा त गएँ तर डरले राम्ररी पढाउन सकिनँ। अलिक छिटो निस्किएर चकडस्टर राखेँ । व्यवस्थापन तर्फका सहायक क्याम्पस प्रमुख सी के सिंह सर हुनुहुन्थ्यो ।उहाँसँग भेट भएपनि समस्या राखिन।
जनकपुरको दक्षिणी भेगमा रहेको क्याम्पसबाट उत्तरको पिडारी चौकमा रहेको डेरामा पुगी साथीले बनाएको खाना खाई स्कुल जानु पर्ने थियो।क्याम्पसबाट निस्किन लाग्दा नजिकैको चिया पसलमा मैले गाली गरेका दुई चार जना केटाहरु चुरोट उडाउँदै गफ गर्दै थिए।ममाथिको क्रोधको धुवाँ छोडेजस्तो लाग्यो । साइकल चढेर डराउँदै उत्तरतर्फ बिसहरा चौकतिर लागेँ।साइकल पनि पुरानो थियो । हिन्दी कहानी मास्टरके साइकलसँग ठ्याक्कै मिल्ने। चुइँचुइँ गर्ने घन्टी बाहेक सबै थोक बज्ने। हो त्यही साइकल लिएर हुँइकिएँ । पछाडि हेर्नु भन्दा भााग् भाइ भन्दै अगाडि बढेँ।पिडारी माई मन्दिरमा पुग्दा साइकलको चेन खुस्कियो ।
पछाडि हेरेको केटाहरु आउँदै थिए। हतार -हतार चेन बनाएँ । बिषहरा चौकबाट पश्चिम लागी शिक्षा कार्यालय भएको निरौला निवासबाट उत्तर तिर साइकल घुमाएँ।बाटो अप्ठ्यारो थियो।बिषहरा पोखरीको किनारबाट स्काउट भवन हुँदै तिरहुतिया गाछीको हाल महेन्द्र नारायण स्मृति सभाकक्ष भएको स्थानमा आइपुग्दा फेरि साइकलको चेन खुस्कियो। अब पर्यो फसाद ।अगिका केटाहरु ५० मिटर पर म आएकै बाटो आउँदै थिए। चिटचिट पसिना आयो ।जान्ने भएर गाली गरेकोमा पछुतो भयो।साइकल छाडेर भाग्ने सोचाइ आयो तर लोभ जाग्यो ।जे होस्, दुईचार मुक्का खाइने भयो भन्दै निहुरिएर नदेखेजस्तो गरेर चेन बनाउँदै थिएँ। मूला त्यो चेन पनि हतारका बेलामा के बन्थ्यो र ? केटा नजिकै आइ पुगे ।छातीको बेग खलाँती जस्तै भइ सकेको थियोे ।मेैले गाली गरेपछि कक्षा छोड्ने मध्येकै एउटा केटाले के भयो सर ? भन्यो म नबोली निहहुरिरहेँ डर कति थियो भन्ने त्यसले बुझेनछ। ऊ मेरो नजिकै आयो। दनक दिन्छ कि भनेको त ए ! उल्टो घुमाउनु न भन्दै उसले सजिलै साइकलको चेन बनाइ दियो। र खुरु खुरु साथी लिएर अगाडि गयो ।
त्यो समूहका मेरा विद्यार्थीले यो घटना बिर्सए होला । साइकल बनाइ दिने मधेसी मूलको उपकारी भाइले पनि यो घटना बिर्सियो होला। म पनि कक्षाका विद्यार्थी मध्ये सशस्त्र प्रहरीमा धेरै पहिले निरीक्षक भएका सुरेश कोइरालाको नाम मात्र सम्झन्छु । र साइकलको चेन बनाइ दिने भाइको अनुहार मात्र !
रारा क्याम्पसमा ७ वर्ष अध्यापन गरेका दिनहरु , पहिलो अतिरिक्त आम्दानी , त्यो क्याम्पसले बनाइ दिएको परिचय , त्यहाँका विद्वद्जनको सङ्गतबाट अर्जित संस्कार र चेतना , जनकपुरको रारा क्याम्पसमा प्रवेश गर्दाका खुसीहरु र त्यो ठाउँले दिएको ममता तथा मैले जनकपुरलाई गर्ने असीम श्रध्दा समेत मेरो मानस पटलका अविस्मरणीय सम्पदाा हुन् ।
( लेखक सिंहदेवी माध्यमिक विद्यालय अर्जुनधाराका प्रधानाध्यापक हुन )
Comments