Sajhamanch Archive

यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णयमा पुग्यो सरकार

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । सो निर्णय बिहीबारदेखि लागू हुने मन्त्रालय स्रोतको भनाइ छ ।

लामो लकडाउनपछि मन्त्रिपरिषद्को गत जेठ २८ गतेको बैठकले एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

त्यसको झण्डै एक महिनापछि सरकारले असार अन्तिम साता छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको थियो । कोभिड–१९ सँगै सरकारले आह्वान गरेको लकडाउनका कारण गत चैत ११ गतेदेखि देशभरका सम्पूर्ण सार्वजनिक यातायात बन्द भएका थिए ।

सरकारको निर्णयपछि पनि व्यवसायीले विभिन्न माग राखेर यातायात सञ्चालनमा गर्न मानेका थिएनन् । विभिन्न चरणको छलफलमा उनीहरुको माग सम्बोधन गर्न सरकार तयार भएपछि साउन ८ देखि यातायातका साधन सञ्चालनमा आएका थिए । यद्यपी लामो दूरीका सवारीसाधन अझै सञ्चालनमा आइसकेको छैन ।

सरकारले लकडाउन खोजेर अवस्थालाई सामान्यीकरण गर्न खोजिरहेको बेला संक्रमितको संख्या बढ्न थालेसँगै फेरि यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो । यस्तै संक्रमण न्यूनीकरणका लागि पुनः लकडाउन गर्नुपर्ने आवाज समेत उठेको छ । मंगलबार प्रधानमन्त्रीले विज्ञहरुसँग गरेको छलफलमा १५ दिन कडाखालको लकडाउन गर्न सुझाव आएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *