Sajhamanch Archive

ओली-प्रचण्ड संवाद अनिश्चित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको संवाद अनिश्चित बनेको छ । दुई अध्यक्ष र साक्षीका रूपमा छलफलमा सहभागी हुँदै आएका वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ बुधबार छलफलमा जुट्ने सहमति भएको थियो ।

तर, सचिवालयका चारजना, पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार दिउँसो अलग्गै पत्रकार जमघट आयोजना गरेपछि नेकपा विवाद नयाँ मोडमा पुगेको र दुई अध्यक्षको संवाद अनिश्चित बनेको एक नेताले जानकारी दिए ।

बिहीबारका लागि तय भएको भेटवार्ता पनि अनिश्चित बनेको उनीहरूको ठहर छ ।

“प्रधानमन्त्रीलाई वार्ता र सहमतिमा ल्याउन हामीले पहल गरिरहेका थियौं । मंगलबारको बैठकमा संवाद जारी रहँदा किन भटाभट नियुक्ति गरेको छलफल नगरेको ? विधि पछ्याउनु पर्दैन, नेताहरूको भावना शिरोपर गर्नुपर्दैन ? भन्ने उहाँहरूको चासो र चिन्ता थियो । हामीले पनि जायज कुरा उठाउनु भयो भनेकै हौं । प्रधानमन्त्रीलाई छलफल गर्नुहोस् भन्ने हाम्रो पनि सुझाव थियो । फेरि हिजो उहाँहरूले भेला गर्नुभयो । भेला मात्र होइन पार्टीभित्रको विवाद सार्वजनिक पनि गर्नुभयो । प्रधानमन्त्री तात्तिनु भएको छ, यस्तोमा उहाँलाई कसरी संवादमा बस्नुस् भन्ने ?,” ओलीनिकट एक नेताले भने ।

पार्टीभित्र संकट गहिरिएपछि र विभाजनकै खतरा बढेपछि नेकपा संसदीय दलका नेतासमेत रहेका नेम्वाङ बिहीबार बिहानै प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । छलफलमा के भयो भनेर नखुलाइए पनि खुमलटार भेटपछि ओलीनिकट नेताहरू थोरै आशावादी बनेका छन् ।

“प्रचण्डको पनि बाध्यता हामीले बुझ्नुपर्छ । उहाँ सहमतिबाट बाहिर जानुपर्छ र अलग्गै कोर्स सुरु गर्नुपर्छ भन्नेमा हुनुहुन्न,” ओलीनिकट एक नेताले प्रचण्ड-नेम्वाङ वार्तापछि भने, “बुधबार दिउँसोको वार्तापछि परिस्थिति अर्कैतिर गयो कि के हो ? फरक बाटो हिँड्न खोज्नु भयो कि के हो ? जस्ता अनेकन प्रश्न उठेको थियो । तर बिहीबार बिहानै प्रचण्डलाई भेटेपछि आशा जागृत भएको छ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *