Sajhamanch Archive

नेपालमा १५ हजारभन्दा बढी कोरोना संक्रमित निको भए

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । नेपालमा अहिलेसम्म पत्ता लागेका २१ हजार ३९० कोरोनाभाइरस संक्रमितमध्ये १५ हजारभन्दा बढी निको भएका छन्। निको हुनेको संख्या १५ हजार १५६ पुगेको छ। उपचाररत् संक्रमितको संख्या ६ हजार १७४ छ। अहिलेसम्म ६० जनाको मृत्यु भएको छ।

दैनिक नयाँ संक्रमित भेटिने संख्यामा उतारचढाव भइरहेको छ। हिजो ३६१ जना नयाँ संक्रमित थपिए। मंगलबार २५९ र सोमबार ४१८ नयाँ संक्रमित भेटिएका थिए।

३० जेठदेखि १९ असारबीचमा दुई दिनबाहेक हरेक दिन ४०० भन्दा बढी नयाँ संक्रमित भेटिएका थिए। सबैभन्दा बढी १९ असारमा ७४० नयाँ संक्रमित भेटिएका थिए। त्यसयता दैनिक नयाँ संक्रमितको संख्या ४०० भन्दा तलै थियो। गएको सोमबार पहिलोपटक ४०० नाघेको हो।

वल्ड मिटरका अनुसार नेपाल बढी संक्रमित हुने देशको ६६औँ नम्बरमा छ। छिमेकी देश भारत भने यो सूचीको तेस्रो नम्बरमा छ। त्यहाँ अहिलेसम्म १९ लाख ६४ हजारभन्दा बढी संक्रमित भेटिएका छन्।

नेपालका छिमेकी राज्य उत्तर प्रदेश र विहारमा संक्रमितको संख्या लगातार बढिरहँदा नेपाल पनि जोखिममा परेको हो। यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहले खुला नाकाका कारण संक्रमितको संख्या बढेको बताएका थिए। हिमालखबर बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *