Sajhamanch Archive

कोरोना महामारीका बीचमा यो वर्ष सहकारीको साधारणसभा कसरी गर्ने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, सहकारी, by .

हरेक आर्थिक वर्ष सुरु भएको पहिलो महिनादेखि नै सहकारी संस्थाहरुले आफ्नो वार्षिक साधारणसभा गर्दछन् । साउनदेखि भदौ हुँदै मंसीरसम्म धुमधामसँग साधारणसभा गर्ने चलन छ । धेरै अतिथिहरु बोलाएर अनि विशिष्ट व्यक्तिलाई प्रमुख अतिथि बनाएर साधारणसभाको उद्घाटन गर्ने हामीलाई बानी परिसकेको छ । शहर बजारमा सहकारी संस्थाको संख्या धेरै रहेकाले हरेक दिनजसो कुनै न कुनै संस्थाको साधारणसभा हुने गर्दछन् ।

साधारणसभा, सहकारी संघ–संस्थाको सर्वोच्च अंग हुने तिनीहरुको विनियम, सहकारी ऐन तथा नियमावलीमा उल्लेख छ । सहकारी ऐन २०७४ को परिच्छेद ६ मा साधारणसभाको व्यवस्था गरिएको छ । ऐनको दफा ३६ (३) ग मा वार्षिक साधारणसभाका बारेमा उल्लेख छ भने दफा ३९ (२) मा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र वार्षिक साधारणसभा बोलाउनु पर्ने व्यवस्था गरिएको छ ।

विगत वर्षहरुमा सहकारी संघ–संस्थाहरुले ऐन र नियमको पालना गरेर तोकिएकै अवधिमा साधारणसभा गरे र प्रतिवेदन तालुक अड्डालाई बुझाए भन्ने सर्वसाधारणको विश्वास छ । तर यो वर्ष विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको बढ्दो संक्रमणका कारण समूहमा भेला भएर साधारणसभा गर्न असम्भव जस्तै छ । अझ कतिपय जिल्ला प्रशासन कार्यालयहरुले सहकारी संस्थालाई साधारणसभा नगर्न उर्दी पनि जारी गरेका छन् ।

एकातिर ऐन नियमको बाध्यात्मक व्यवस्था अर्कोतिर कोरानाको महामारी र सरकारको दबाव । आम सहकारी संघ–संस्थाहरु कसरी साधारणसभा गर्ने भन्ने विषयमा अन्यौलमा छन् । विश्वका २१३ वटा देश कोरोना भाइरसको संक्रमणको चपेटामा छन् । यो आलेख तयार गरेको समयमा विश्वका सात लाख मानिसले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । नेपालमा पनि ६५ जनाको ज्यान गइसकेको सरकारी तथ्याङ्क छ । संक्रमण दर निरन्तर बढिरहेको अवस्थामा समूहमा भेला भएर गरिने सबै कार्यक्रममा संघीय सरकारले पूर्णतया बन्देज लगाएको छ । यसकारण पनि सहकारीको साधारण सभाका लागि अन्यौल उत्पन्न भएको हो ।

‘साधारणसभा सहकारी संघ–संस्थाका लागि अनिवार्य शर्त हो, गर्नुपर्छ’ राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेल भन्छन्, ‘साधारणसभा गर्न नयाँ विधि अपनाउनु पर्छ र सुरु पनि गरिएको छ । साधारणसभामा सदस्यको भौतिक उपस्थिति सम्भव नभएमा उसको सुझाव, टिप्पणी र प्रतिक्रिया समावेश गर्न सकिन्छ । पुष मसान्तसम्मको समय ऐनले नै दिएको हुँदा अहिले हतारिरहनु जरुरी देखिँदैन ।’

संस्थाका सेयर सदस्य वा तिनले छानेका प्रतिनिधिको उपस्थितिमा मात्रै साधारणसभा गर्नुपर्छ भन्ने मान्यतामा धेरै सहकारी अभियान्ताको एकमत छ । तर समूहमा भेला भएर गरिने कार्यक्रम नै रोकिएको वर्तमान अवस्थामा सहकारीको साधारणसभाका लागि बनाइएका ऐन नियमहरु गौण हुने सहकारी अभियन्ताको जिकिर छ । महामारीका कारण यो वर्ष साधारणसभा गर्न सकिएन भने अर्को वर्ष यही प्रतिवेदन माथि पनि छलफल गराउन र प्रमाणीकरण गर्न सकिन्छ ।

साधारणसभा केही महिना ढिलो भयो भन्नेमा आत्तिनु पर्ने अवस्था रहँदैन । तर आफ्ना सदस्यहरुलाई संस्थाको वित्तीय अवस्था, नीति, बजेट र कार्यक्रमहरु बारे समयमा नै अवगत गराउन आवश्यक भने देखिन्छ । राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी सदस्य रामचन्द्र उप्रेती आफ्ना सदस्यहरुलाई विश्वासमा लिएर संस्था चलाउन सकिने बताउँछन् ।

‘रोग ब्याधी महामारीले साधारणसभा गर्न सम्भव भएन भने पनि अडिट रिपोर्ट, वार्षिक कार्यक्रम, बजेट समावेश गरेर समयमा नै सदस्यको हातहातमा प्रतिवेदन पुर्याउने व्यवस्था मिलाउनु पर्छ’ नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का अध्यक्ष समेत रहेका बोर्डका कार्यकारी सदस्य उप्रेतीको सुझाव छ । सानो सानो समूह बनाएर वा एकाईमा सामुहिक छलफल चलाएर यो वर्षको साधारणसभा सञ्चालन गर्न सकिन्छ, एनएमसीले यस्तै योजना बनाएको उनको भनाई छ ।

कतिपय अभियन्ताहरु सहकारीको साधारणसभा भर्चुअल विधिबाट पनि गर्न सकिन्छ भन्ने तर्क गर्दछन् । अत्याधुनिक मिडियमहरु जुम, गुगल मिट, म्यासेन्जर, भाइबर आदिको प्रयोग गरी छलफल गर्नुपर्ने उनीहरुको भनाई छ । थोरै सदस्य संख्या भएको, शिक्षितहरु मात्र सदस्य रहेको तथा शहरी भूगोलको सहकारी संस्थाको हकमा यस्तो विधि पनि उपयोगी होला ! तर मोफसलका हजारौं सदस्य भएका संस्थाहरुमा यो सम्भव देखिँदैन ।

अनि प्रविधिको प्रयोग गरेर गरिने साधारणसभाको वैधता कसले कसरी दिने भन्ने प्रश्न गहन छ । साधारणसभा भनेको मिटिङ वा ट्रेनिङ नभएर गणपुरक संख्याको उपस्थितिमा गरिने वैधानिक छलफल हो । साधारणसभा भनेको लोकतान्त्रिक विधिको उच्चतम अभ्यास पनि भएकाले कोरोना महामारी रोकिए पछि सदस्यको भौतिक उपस्थितिमा गर्नु वैधानिक हुने विज्ञको राय छ ।

सहकारी विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेल भर्चुअल विधिबाट गरिने साधारणसभालाई विभागले वैधानिकता दिन नसक्ने बताउँछन् । ‘पुष मसान्तभित्र साधारणसभा गर्नुपर्ने ऐनको व्यवस्थालाई कोरोना महामारीका कारण फेरवदल गर्नुपर्ने भएमा मन्त्रालय र विभागको तर्फबाट सूचना आउने नै छ’ विभागका सूचना अधिकारीसमेत रहेका उपरजिष्ट्रार पौडेलले भनेका छन्, ‘हामीले ऐन र नियमको कार्यान्वयन गराउने हो ।’

साधारणसभाका लागि अत्यन्त सहज विधि सुझाउँदै मेची सहकारी संस्था दमकका व्यवस्थापक खोमप्रसाद बगाले भन्छन्, ‘संस्थाको वार्षिक प्रतिवेदन सदस्यको घरघरमा पठाउने, जो जो सदस्यले प्रतिवेदन माथि जिज्ञासा वा टिप्पणी वा सुझाव दिनुहुन्छ, उहाँहरुलाई बोलाएर प्रष्ट पार्ने र माइन्युट गर्ने विधि उपयुक्त हुन्छ ।’ मेची सहकारीले आगामी साउन २८ गते प्रतिवेदन सार्वजनिक गर्ने र सोही विधि अपनाएर साधारणसभा सम्पन्न गर्ने योजना बनाएको उनले सुनाएका छन् ।

मेची सहकारीका व्यवस्थापक बगालेले प्रस्तुत गरेको मोडल अवलम्बन गरेर मोरङको सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाले हालै साधारणसभा सम्पन्न गरिसकेको राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेल बताउँछन् । यस्तो विधिबाट साधारणसभाको प्रक्रिया अघि बढाउँदा सदस्यहरुले पनि विगतको भन्दा राम्रो फिडब्याक दिएको उनले सुनाए ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कोन)का सञ्चालक घनश्याम अधिकारी चाहिँ यो बेला साधारणसभाको लागि हतारो नगर्न सुझाव दिन्छन् । हामी अभियानकर्मीको मात्र धारणाले अहिले काम गरिहाल्दैन । अभियान, मन्त्रालय र विभागसमेत मिलेर उपयुक्त समयमा यसको निकास ल्याउने कुरामा उनी आश्वस्त पार्दछन् ।

हो, पक्कै पनि ऐनले दिएको अवधि अझै सवा ५ महिना बाँकी नै छ । यसैले साधारणसभा गर्न अहिले हतारिनु पर्ने आवश्यकता छैन । तर ऐनले पुषको मसान्तसम्म म्याद दिएको छ भन्दैमा सहकारी संस्थाहरुले चालू वर्षका लागि बनाएको बजेट, नीति तथा कार्यक्रम छलफल नगराई कार्यान्वयनमा लैजान पनि त गाह्रो छ । यसैले सहकारी संस्थाको पाइलट टिमका बीचमा भए पनि वृहत छलफल चलाएर नीति कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने रहेछ भन्ने विज्ञको सुझाव मननीय छ ।

यो वर्ष सम्पादन गरिने साधारणसभाको स्वरुपले हालसम्म हामीले भोग्दै आएको घण्टौं उद्घाटन भाषण सुन्नुपर्ने तर बन्दसत्रमा सदस्यले बोल्ने अवसर नै नपाउने चलनको लगभग अन्त्य गर्नेछ । यतिमात्र होइन, साधारणसभामा गणपुरक संख्या पुर्याउन भत्ता दिएर सदस्य बोलाउनु पर्ने र संस्थाले भब्य भोजको आयोजना गर्नुपर्ने बाध्यतालाई पनि सायदै किनारा लगाउने छ । अनि केवल हस्ताक्षर गर्दै दौडँदै एकैदिन धेरैवटा संस्थाको साधारणसभाको वैधानिकता दिने पात्रहरुको अभ्यासको पनि अन्त्य गर्नेछ । आशा गरौं, कोरोना महामारीको यो वर्षले सहकारी अभियानमा साधारणसभा सम्बन्धी एउटा नयाँ अभ्यासको सूत्रपात गरिदिनेछ । जुन वर्षौंसम्म कायम रहनेछ ।

(यो सम्बन्धी विज्ञ एवम् सहकारी अभियन्ताहरुले साझा सहकारी मञ्च अंक ६५, २०७७ साउन २१ गतेको कार्यक्रममा राखेको धारणाको युट्युव लिङ्क यसैसाथ समावेश गरिएको छ ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *