Sajhamanch Archive

श्रीलङ्कामा राजापाक्षको पार्टी अत्यधिक मतका साथ विजयी

Published: in विश्व समाचार by .

एजेन्सी । श्रीलङ्कमा बुधबार भएको संसदीय निर्वाचनबाट सत्तारुढ दल अत्यधिक मतका साथ विजयी भएको छ । प्रधानमन्त्री महेन्दा राजापाक्ष नेतृत्वको श्रीलङ्का पुडुजाना पेरामुना (एसएलपीपी) ले संसदमा अत्यधिक बहुमत ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ । सो पार्टीले कुल २२५ सिटमध्ये १४५ सिटमा सफलता हासिल गरेको आयोगको जनाएको छ । यो जित सङ्ख्या सर्वेक्षणकर्ताहरुले देखाएको पुर्वानुमान नतिजाभन्दा पनि बढी हो । सर्वेक्षणकर्ताहरुले १३० देखि १३५ सिटसम्म विजयी हुनसक्ने अनुमान गरेका थिए ।

आयोगले सार्वजनिक गरेको नतिजासँगै सत्तारुढ दल दुईतिहाइ बहुमतसहित संसदमा उपस्थित भएको छ । सत्तारुढ दलभन्दा धेरै पछाडि रहेको पूर्व राष्ट्रपति सजिथ प्रेमादास नेतृत्वको युनाईटेड पिपल्स फ्रन्टले ४५ जना मात्रै सांसदलाई जिताउन सफल भएको छ । त्यसैगरी अर्को विपक्षी दल आइटिएकेले भने दश सिटमा मात्रै विजयी हासिल गरेको छ ।

पूर्व प्रधानमन्त्री रनिल विक्रमादित्यले नेतृत्व गरेको श्रीलङ्काको सर्वाधिक पुरानो पार्टी युनाईटेड नेशनल पार्टीले भने २२५ मध्ये एक ठाउँमा पनि आफ्नो उम्मेदवारलाई जिताउन नसकेर संसदमा शून्य भएको छ । पछिल्लो नतिजा सार्वजनिक भएसँगै वर्तमान प्रधानमन्त्री महेन्दा राजापाक्षले नै फेरि नयाँ प्रधानमन्त्रीका रूपमा सपथ खाने सम्भावना देखिएको छ । यही हप्ता उनले सपथ खाएर अर्को हप्ता मन्त्रीमण्डल पुनर्गठन गर्नुहुने अनुमान गरिएको छ । श्रीलङ्काको संविधान अनुसार मन्त्रीपरिषद् बढीमा ३० जनाको मात्रै गराउन सकिने छ ।

निर्वाचन आयोगले नतिजा सार्वजनिक गरेको केही समयपछि राष्ट्रपति गोटावाया राजापाक्षले सरकार गठनका लागि दुई तिहाइ ल्याएको पार्टीका नेता मेहन्दा राजापाक्षलाई आह्वान गरिसकेका छन् । श्रीलङ्कामा सहोदर दाइ प्रधानमन्त्री र भाइ राष्ट्रपति भएका छन् । श्रीलङ्काको राजनीतिमा दुई दशकदेखि राजापाक्ष परिवारको प्रभाव रहेको छ । राजपक्ष दाजुभाई विभिन्न विवादमा पनि मुछिदै आएका छन् ।

श्रीलङ्कामा कोरोनाभाइरसको महामारी फैलिरहेकै बेला गत बुधबार संसदीय निर्वाचन भएको हो । यसअघि दुई पटक मतदानको मिति तोकेर पनि सारिएको थियो । महामारीका बीचमा भएको निर्वाचनमा पनि झण्डै ७१ प्रतिशत मतदाता मतदानमा सहभागी भएका थिए । श्रीलङ्कामा अहिलेसम्म तीन हजारभन्दा कम मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने कम्तीमा ११ जनाको मृत्यु भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *