Sajhamanch Archive

प्रतिबन्धित औषधिको डिलर नै सञ्चालन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by .

विराटनगर  । मोरङको लेटाङ नगरपालिका–८ जाँतेबाट प्रहरीले गत आइतबारराति १० बजे २८ वर्षीय मनोजकुमार मगरलाई पक्राउ गर्यो ।

को २ ह ६१७४ नम्बरको टेम्पोमा राखेर बेच्दै हिँड्ने क्रममा तीन सय १६ ट्याब्लेट ट्रामाडोल र तीन सय ८८ ट्याब्लेट डिकोलिक नामक नेपालमा बिक्रीको अनुमति नदिइएका प्रतिबन्धित औषधिसहित पक्राउ परे । नियन्त्रणमा लिनु अघि मगरले दुई युवालाई उक्त औषधि बिक्री गरिसकेको खुल्यो ।

बरामद गरिएको औषधि मानव स्वास्थ्यका लागि लागुऔषध जत्तिकै हानिकारक मानिन्छ । मगरलाई औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएर अनुसन्धान थाल्दा औषधि झापाको दमकबाट खरिद गरेर ल्याएको खुल्यो ।

त्यस्तै प्रहरीले मोरङको बेलवारी नगरपालिका–६ सोमबारेमा रहेको सुशान्त टेक्निकल क्लिनिक नामक औषधि पसलबाट साउन ६ गते प्रतिबन्धित औषधिसहित तीन जनालाई पक्राउ गर्यो । क्लिनिकका सञ्चालक १९ वर्षीय सुशान्तकुमार चौधरी र औषधि किन्दै गरेका बेलबारी–५ का २३ वर्षीय शिवजी चौधरी र सुनसरीको धरान उपमहानगरपालिकाका २१ वर्षीय किसनलाल थारु पक्राउ परे ।

पक्राउ परेकाको साथबाट १३ हजार छ सय ट्याब्लेट ट्रामाडोल, दुई हजार क्याप्सुल डेकोलिक, चार हजार क्याप्सुल स्पास्पाइन, नौ सय ६० क्याप्सुल प्रेगाउट किट लगायतका अरु धेरै प्रकारका प्रतिबन्धित औषधि बरामद भए । उनीहरुमाथि विभागले अनुसन्धान अघि बढाएपछि औषधि दमकबाटै खरिद गरेर ल्याएको खुल्यो ।

प्रहरीले झापा, मोरङ र सुनसरीबाट मात्रै पछिल्लो एक महिनामा विभिन्न प्रकारका प्रतिबन्धित औषधिसहित १५ जनालाई पक्राउ गरेर कारबाहीका लागि विभागमा बुझाइसकेको छ । पक्राउ परेकाहरुले दमकबाट खरिद गरेर ल्याउने गरेको बयान दिएपछि विभाग र प्रहरीको नजर त्यता सोझिएको थियो ।

त्यही सूचनाका आधारमा विभागको कार्यालय विराटनगर र प्रहरीको संयुक्त टोलीले बिहीबारसाँझ दमक नगरपालिका–७ का ३८ वर्षीय गंगाबहादुर खड्कालाई पक्राउ गर्यो । अनुसन्धान अघि बढाउँदा खड्का पूर्वका विभिन्न सहरमा नेपालमै आयात, किनबेच र सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको औषधिको ‘सप्लाई’ गर्ने मुख्य भूमिकामा रहेको खुल्यो । विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलका अनुसार खड्काको दमक मेडिसिन डिस्ट्रीब्युटर्स नामक औषधिको होलसेल पसल छ ।

त्यही पसलको आडमा उनले भारतबाट अवैधरुपमा ल्याएर प्रतिबन्धित औषधि बिक्री गर्ने गरेको खुलेको छ । खड्काको घरमा छापा हान्दा लुकाईछिपाई राखेको अवस्थामा एक सय २० पत्ता ट्रामाडोल, ३० पत्ता जेनग्रा रेड, ९५ ट्युब लुलीगार्ड, चार सय बट्टा डार्मीकेम ओसी, १४ पत्ता प्रेगाउट किट, एक सय ४० पत्ता भिवेल फोर्ट र एक सय ५० ट्युब क्लोबेटा जिएम औषधि बरामद भएको कट्टेलको भनाइ छ । उनकाअनुसार प्रतिबन्ध लगाइएको र दर्ता नै नभएका कारण यी कुनै औषधि नेपालमा भित्राउन र बिक्री वितरण गर्न पाइँदैन ।

जेनेग्रा रेड मानिसलाई यौन उत्तेजनामा ल्याउने र लुलीगार्ड, डर्मीकेम ओसी तथा क्लोबेटा जिएम छालामा प्रयोग गर्ने औषधि हुन् । त्यस्तै प्रेगाउट किट गर्भपतन गराउने र ट्रामाडोल क्यान्सरको समस्या भएकालाई दुखाई कम गर्न प्रयोग गरिने कट्टेलको भनाइ छ ।

अरु औषधिमा मिसाएर सेवन गर्दा लागुऔषधको जस्तै नसा दिने भएकाले ट्रामाडोल सरकारले नेपालमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको उनले बताए । कट्टेलका अनुसार १५ देखि ३० वर्ष उमेर समूहका युवाले यसको अत्याधिक प्रयोग गर्ने गरेको पाइएको छ । त्यही भएर अवैध रुपमा भित्रने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको उनले बताए ।

विशेष गरेर लागुऔषधका दुव्र्यसनीले पेट दुख्दा र नशाको दुखाईमा प्रयोग गरिने प्रिगाभालिन, डाइसाइक्लोमिन समेतका औषधिसँग मिसाएर ट्रामाडोलको सेवन गर्ने गरेको कट्टेलको भनाइ छ । प्रिगाभालिन र डाइसाइक्लोमिन भने नेपालमा बिक्री गर्न पाइन्छ । ‘ट्रामाडोलसँगै बरामद हुने यी औषधि दर्ता भएका आधिकारिक कम्पनीबाटै दुरुपयोग भइरहेको पाइएको छ,’ विभागका प्रमुख कट्टेलले भने, ‘त्यस्ता कम्पनीलाई कारबाहीको दायरामा ल्याउन प्रक्रिया अघि बढाइएको छ ।’

उनकाअनुसार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेर प्रतिबन्धित औषधिसहित कारबाहीका लागि जिम्मा लगाएकाहरुमाथि अनुसन्धान अघि बढाउँदा यसको कारोबार हुने डिलरसम्म पुग्न सकिएको हो । ‘खड्काले अरु पनि प्रतिबन्धित औषध ‘स्टक’ गरेर राखेका हुन सक्छन्,’ उनले भने, ‘थप अनुसन्धान अघि बढाएर खोजी थालिएको छ ।’ पूर्वका विभिन्न सहरमा प्रतिबन्धित औषधि ‘सप्लाई’ गर्नेदेखि फार्मेसीहरुलाई अवैध औषधि उपलब्ध गराउनेसम्मको धन्दामा खड्काको संलग्नता पाइएको कट्टेलले बताए ।

खड्काविरुद्ध औषधि ऐन २०३५ अनुसार कारबाही गर्न अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए । ऐनको दफा १८ ले कुनै पनि औषधिको दुरुपयोग गर्न नपाइने र दुरुपयोग गरेमा कैद र जरिवानाको सजाय हुने व्यवस्था गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *