Sajhamanch Archive

अरुलाई कोरोनाको चिन्ता, प्रधानमन्त्रीलाई ‘अयोध्या’ को !

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

चितवन । चितवनको माडी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शिवहरी सुवेदी स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान ११ बजे भरतपुरमा आएर चितवन मेडिकल कलेजमा उपचारका लागि लाइनमा बसिरहेका थिए । सुवेदीलाई काठमाण्डौंको नम्बरबाट फोन आयो ।

खासै सन्चो नभएकाले फोन उठाएर बोल्ने जाँगर पनि उनलाई थिएन । पहिलो फोन ‘मिस’ भयो । फेरि सोही नम्वरबाट फोन आयो । उनी सिटी स्क्यान गर्ने लाइनको मुखमै पुगेका थिए । मानिसहरुको भिड थियो । फोन उठाए ।

‘नमस्कार सन्चै हुनुहुन्छ, तपाई माडी नगरपालिकाको प्रवक्ता वडाध्यक्ष शिवहरी सुवेदी’ भनेर मसिनो स्वर सुने ।

वडाध्यक्ष सुवेदीले भने, को बोल्नु भो, मैले त चिनिनँ ।

उताबाट जवाफ आयो, ‘म प्रधानमन्त्री केपी शर्मा ओली ।’

हत्तपत्त सम्हालिए सुवेदी ।

‘प्रधानमन्त्री ज्यू नमस्कार । मत बिरामी भएर अस्पतालको लाइनमा छु ।’ त्यति भन्दैं उनी भिडभाड कम भएकोतिर छेउ लागे ।

प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गरे । माडी अयोध्याका बारेमा सोधे ।

‘प्रधानमन्त्रीले अयोध्याका बारेमा चासो राख्नुभयो, उहाँ त माडीवासीले भन्दा पनि बढी जानकारी राख्नुहुँदोरहेछ, मलाई त अचम्म लाग्यो’ वडाध्यक्ष सुवेदीले भने ।

प्रधानमन्त्रीको भनाइ उध्रृत गर्दै वडाध्यक्ष सुवेदीले भने, ‘अयोध्याका बारेमा मैले त्यसै बोलेको छैन, ठोरी र माडीको क्षेत्रमा नै भगवान रामको जन्मभएको यथेष्ट प्रमाण हामीसँग छन्, बाल्किमी आश्रम पनि छ, भारतमा राम जन्मभूमि अयोध्याका बारेमा विवाद छ ।’

प्रधानमन्त्री ओलीले अयोध्याका बारेमा स्थानीय तहको धारणा के छ, के सोच्नुभएको छ भनेर सोधेको वडाध्यक्ष सुवेदीले बताए ।

प्रधानमन्त्री ओली र वडाध्यक्ष सुवेदीका वीचमा चार मिनेट जति कुराकानी भएको थियो ।

प्रधानमन्त्रीले १०/१२ मिनेट नै गफ गर्न खोज्नुभएको थियो, तर म अस्पतालमा थिएँ, उहाँले पछि कुरा गर्ने भनेर स्वास्थ्यलाभको कामना गर्दै फोन राख्नुभयो, वडाध्यक्ष सुवेदीले भने, प्रधानमन्त्रीज्यूले माडीको टोली लिएर उपयुक्त समयमा भेट्न आउन भन्नुभयो ।

प्रधानमन्त्रीले अप्रत्याशितरुपमा फोन गर्दा कस्तो अनुभूति भयो त भन्ने प्रश्नमा सुवेदीले भने, ‘माडीका बारेमा चासो लिएर प्रधानमन्त्री मसहितको केही मान्छेको फोन नम्बर लिएको सूचना पाएका थियौं, तर कसलाई फोन आउँछ भन्ने थियो, मलाई नै गर्नुभयो, खुसी लाग्यो ।’

उनले प्रधानमन्त्रीसँगको भेटमा माडीमा रामजन्मभूमि अयोध्या बनाउन सरकारको तर्फबाट यथाशिघ्र पहल गर्न अनुरोध गर्ने बताए ।

चितवन राष्ट्रिय निकुञ्जबाट फायर लाइन खोलेर बाल्मिकी आश्रम जाने व्यवस्था मिलाउन र माडीका समस्या प्रधानमन्त्रीसँग राख्ने वडाध्यक्ष सुवेदीले बताए ।

प्रधानमन्त्रीलाई भेट्न माडी नगरपालिकाको जनप्रतिनिधिसहितको टोली कोरोना महामारीको समेत वास्ता नगरी शनिबार बिहानै काठमाडौं प्रस्थान गरेको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *