Sajhamanch Archive

कोरोना परीक्षण : कोशीमा पोजेटिभ, प्रदेश ल्याबमा नेगेटिभ !

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

विराटनगर । स्वास्थ्यमा समस्या आएपछि विराटनगर महानगरपालिका वडा नं. १० का ६३ वर्षीय रमेश अग्रवालले बिहीबार कोशी अस्पतालको फिबर क्लिनिकमा गएर कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि स्वाब दिए ।

कोशीको रिपोर्ट नआउँदै स्वास्थ्य गम्भीर बन्यो । आफन्तले शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रठिष्ठान धरान पुर्‍याए । धरानले पनि उनको स्वाब संकलन गर्‍यो । मृगौलासम्बन्धी समस्या देखिएका अग्रवालको उपचारका क्रममा मृत्यु भयो ।

तर २४ घण्टाभन्दा कम अन्तरमा दुई ठाउँमा दिएको स्वाबको रिपोर्ट भने अलग-अलग आएको छ । धरानले प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर पठाएको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ ।

प्रदेश प्रयोगशालामा कोरोना जाँचका लागि पोर्टेबल पीसीआर मेसिन छ, जसले अन्य मेसिनको तुलनामा छिटो रिजल्ट दिने भएकाले प्रदेशका अस्पतालहरुले इमरजेन्सी अवस्थाका शंकास्पद विरामीको स्वाब प्रदेशमा पठाउँदै आएका छन् ।

रिपोर्ट नेगेटिभ आएपछि अस्पताल प्रशासनले थोरै मलामी जाने सर्तमा शव आफन्तको जिम्मा लगायो ।

तर कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा अग्रवालको रिपोर्ट पोजेटिभ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । उनका अनुसार कोशीमा स्वाब पहिला दिएकाले त्यसलाई नै आधार मानेर मृतकका आफन्तको पीसीआर जाँच गरिने छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगरका सूचना अधिकारी प्रकाश कार्कीले भने मेसिनको खराबी नभई स्वाब संकलनमा ध्यान नदिए रिपोर्टमा फरक आउनसक्ने बताउँछन् ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *