अपहरित बालकलाई छाड्न ४० लाख फिरौती माग
Published:
by .काठमाडौँ । आइतबार साँझ काठमाडौँको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्कालाई छाड्न अपहरणकारीले ४० लाख फिरौती मागेको पाइएको छ ।
राती अपहरणकारीले निशानको परिवारलाई सम्पर्क गर्दै सुरुमा २ करोड रुपैयाँ फिरौती माग गरेको परिवारिक श्रोतले जनाएको छ । तर आफूहरुसँग २ करोड रुपैयाँ केही गरे पनि नहुने बताएपछि अपहरणकारीले अन्तिममा ४० लाख रुपैयाँ माग गरेका हुन् । निशानको परिवार सामान्य निम्न मध्यम वर्गका छन् ।
मनहरी खोला नजिकैको काँडाघारीमा डेरा गरी बस्दै आएकी सिन्धुपाल्चोककी चमेली खड्काका छोरा हुन् निशान खड्का । चमेलीले सामान्य चिया पसल चलाउँदै आएकी थिइन् । निशानका बुवा भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमै छन् ।
निशानलाई सकुशल उद्धार गर्न महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले ‘सर्च एण्ड रेस्क्यु अपरेशन’ चलाइरहेको छ ।
यतिबेला भक्तपुरका सबै नाकाहरुमा चेकजाँच कडा पारिएको छ । अहिले घटनास्थल तथा आसपासको क्षेत्रमा २ सयभन्दा बढी प्रहरी परिचालन गरी अपहरितको खोजी जारी राखिएको छ ।
चिनजानकै व्यक्तिले अपहरण गरेको हुनसक्ने प्रहरी आशंका छ। घटनाको अनुसन्धानमा परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल आफैं घटनास्थलमा खटिएका छन्।
Comments