Sajhamanch Archive

विदेशबाट ५० हजार नेपाली फर्किए

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कोरोना भाइरसको महामारीपछि गत जेठबाट सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । अहिलेसम्म विभिन्न चार्टर्ड उडानमार्फत ३० देशबाट ५० हजार १०७ नेपाली स्वदेश आइपुगेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा समस्यामा परेका श्रमिकको उद्धारका लागि ३१९ चार्टर्ड उडानमार्फत उनीहरू नेपाल फर्किएका हुन् ।

स्वदेश फर्किएकामध्ये ३८ हजार ४४५ जना आफ्नो प्रदेश गएका छन् भने एक हजार ३६५ जना होटल क्वारेन्टिनमा छन् । यस्तै ५ हजार ४३६ जना होम क्वारेन्टिनमा, ४ हजार ३७० जना लोकल क्वारेन्टिनमा र ६३ जना अस्पतालमा रहेको केन्द्रले जनाएको छ ।

कुन प्रदेशमा कति जना ?

विदेशबाट फर्किनेमा सबैभन्दा धेरै वाग्मती प्रदेशका छन् । वागमती प्रदेशमा मात्रै १३ हजार ८२५ जना नेपाली फर्किएका छन् । यस्तै सबैभन्दा कम वैदेशिक रोजगारीबाट फर्किनेमा प्रदेश कर्णाली र सुदूरपश्चिमका छन् । कर्णालीमा एक हजार १५५ जना नेपाली फर्किएका छन् भने सुदूरपश्चिमका एक हजार २९७ जना नेपाली फर्किएका छन् ।

यस्तै प्रदेश ५ मा आठ हजार ३९५ जना, गण्डकीमा ६ हजार ४७८ जना, प्रदेश २ मा ८ हजार ३५७ जना र प्रदेश १ मा १० हजार ६२३ जना स्वदेश फर्किएका छन् ।

अब दैनिक पाँच सयजनाको मात्र उद्धार गरिने

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अब दैनिक पाँच सय नेपालीको मात्र उद्धार गर्ने निर्णय गरेको छ । सरकारले अनुमति दिएको र सम्बन्धित देशमा रहेको कूटनीतिक नियोगहरूले सिफरिसमा दैनिक तीन सयजना र वैदेशिक रोजगारी कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी दैनिक दुई सय जनालाई उद्धार गर्ने निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *